काठमाडौं, वैशाख – दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । अधिकांश भारतीय पर्यटक नित्यकर्म सकाइवरी तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । अनि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो ।विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो । हिन्दु धर्ममा कैलाशलाई महादेवको घर भनिन्छ । महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरुको अनुहार उज्यालिएको थियो ।
विमानले जसै टेकअफ गरी उत्तरतर्फ उचाइ बढाउँदै गयो, यात्रीहरुको मनमा कौतुहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो । झण्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमा नजिकै पुग्यो”, पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने ।विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका उनीहरुले दुई हात जोडेर नमस्कार गरे । यात्रुहरुका आँखै अगाडि महादेवको घर अर्थात् कैलाश पर्वत । उनीहरु मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे ।यत्तिकैमा विमानमा रहेका पण्डितले विमानका यात्रुहरुको ध्यानाकर्षण गराए । सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न अह्राए । अनि मन्त्रोचारणद्वारा कैलाश पर्वतका अगाडि विमानभित्रैबाट पूजा गराउन सुरु गरे । उनले मन्त्र सकाएपछि कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले ।
महादेवको बासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरु पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए । विमानले तीन, चार फन्को लगाइसकेको थियो । कैलाशलाई साक्षात दर्शन गर्न पाउँदाको खुसी यात्रुहरुको आँखाबाट छल्किरहेको थियो । कोही आँखाभरी खुसीका आशु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप सुरु गरिरहेका थिए ।सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशब न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्ससँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्फत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ । यात्रीहरुको आवासीय प्रवन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ ।रामनमवीको दिन कैलाश दर्शनका लागि सात वटा माउन्टेन फ्लाइट पर्वतीय उडान भयो । जसमा आठ जना नेपालीसहित दुर्इ सय ४० जनाले कैलाश पर्वतको दर्शन गरेका थिए । कैलाश पर्वत दर्शनपछि उनीहरुले नेपालगञ्ज फर्केर रुद्राभिषेक पूजा समेत गरेका थिए ।
पथिल होलिडेजले नयाँ गन्तव्यका रुपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ । “हाम्रा लागि भारत ठूलो बजार हो, हामीले भरतका विभिन्न सहरबाट यहाँ ल्याएर माउण्टेन फ्लाइटमार्फत कैलाश पर्वतको दर्शन गराउँछौँ”, न्यौपानेले भने, “तिर्थयात्रीहरुलाई दुइतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेजमा बनाएर यात्रा सहज बनाइरहेका छौँ ।भारतको कलकत्ताबाट कैलाश दर्शन गर्न मङ्गलबार साँझपख नेपालगञ्ज आइपुगेकी सञ्चिता गाङ्गुलीले यो आफ्नो जीवनको महत्वपूर्ण पल भएको बताए । “हामी यहाँ योजना बनाएर आएका थिएनौँ, सायद महादेवको ‘ब्लेसिङ’ थियो होला, हाम्रो यो पारिवारिक ‘ट्रिप’ निकै राम्रो भयो”, उनले भने । उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको सुनाए ।पछिल्लो केही वर्षयता भारतीयहरु भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन् । भिसा, समय वा स्वास्थ्यको समस्या हुनेलाई पर्वतीय उडानमार्फतको दर्शन सबैभन्दा उपयुक्त विकल्प भएको भारतको बैंगलोरबाट आउनुभएका ८० वर्षे विशाल कुँवरले बताए ।कैशाल पर्वत दर्शन गरेर आफू निकै धन्य भएको दिल्लीबाट आउनुभएका विनोद शर्माले सुनाए । उनले भने, “जीवनमा यति सहज ढङ्गले कैलाश पर्वतको दर्शन गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइन । म यो खुसीको बयान गर्न नि शब्द छु ।”
उनले आफ्नो ‘बकेट लिस्ट’को एउटा योजना पूरा भएको बताए । आफूहरु कैलाश दर्शन गरेर सिद्धार्थ होटलमा आइपुग्दा रुद्राक्षको माला र प्रसादले स्वागत गरेको पल बिर्सन नसक्ने भन्दै उनले भोले बाबाको आशीर्वाद पाएँ झैँ महसुस भएको सुनाए ।गत माघदेखि नेपालगञ्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म पाँच सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन् । आगामी बैशाख १० गतेको लागि करिब २ सय जनाको बुकिङ भैसकेको पथिल होलिडेजले बताएको छ ।उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष टङ्क धामीले नेपालगञ्जमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा माउन्टेन फ्लाइट भएका भन्दै यसमार्फत यहाँको पर्यटन चलायमान हुन सहज भएको उल्लेख गरे । उनले यसले पर्यटकको आगमन र त्यसबाट हुने आम्दानी बढाएको बताए ।