उद्योग व्यापार संघ बुटवलको रक्तदान, ५० पोइन्ट रगत संकलन

प्रकाशित मिति:

बुटवल- बैशाख । उद्योग ब्यापार संघ बुटवलले आठौं रक्तदान कार्यक्रम गरेको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघले आठौं पटक रक्तदान गरेको हो । कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकालले व्यवसायिक हक हितका अलावा संघले सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिका खेल्नुपर्ने सुझाव दिए । संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्दै आएको चर्चा गर्दै रगतको अभावमा कसैको ज्यान नजाओस् भनेर मानवीय सेवा भावले रक्तदान गरिएको बताए ।

अध्यक्ष पाण्डेले स्थानीय सरकारसंग सहकार्य गरेर सरसफाई, बृक्षरोपण लगायतका कामहरु पनि नियमितरुपमा गर्दै आएको बताए । कार्यक्रममा संघको कार्यसमितिका पदाधिकारी, सदस्य,सल्लाहकार र शुभेच्छुक समेत गरी ५० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक विजय आचार्यले बताए । चौराहा हस्पिटल प्रालि र माया शुभ किराना पसलले आर्थिक तथा जिन्सी सहयोग गरेको रक्तदानमा रक्त सञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जीसी, बाणिज्य उपाध्यक्ष केशव श्रीस,महासचिव यमलाल मरासिनी,सचिव कोशलराज भण्डारी, कोषाध्यक्ष नम्रता थापा,सहकोषाध्यक्ष अर्जुन गिरी लगायतले बोल्दै कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।संघले यसअघि बुटवल देवीनगरमा गरेको चौथो औद्योगिक ब्यापार मेलामास्टल नै राखेर ८१३ जनालाई रक्तदान गराएको थियो ।