आज लुम्बिनी केबलकारको टिकटमा ६० वर्षमाथिका महिलालाई ५० प्रतिशत छुट

प्रकाशित मिति:

बुटवल ।   मातातिर्थ औंशीका अवसरमा आज लुम्बिनी केबलकारले ६० वर्षमाथिका महिलालाई टिकटमा ५० प्रतिशत छुट दिएको छ । मातातिर्थ औंशी विशेषगरी आमाहरुको सम्मान गर्ने महत्वपूर्ण अवसर भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले आज ६० वर्षमाथिका नारीहरुलाई केबलकार यात्रामा छुट दिने निर्णय गरेको केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

छुट अनुसार प्रति व्यक्ति ५ सय रुपैयामा केबलकारको दुईतर्फी यात्रा र बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी तथा दुर्गा माताको मन्दिरमा दर्शन र पुजाआजा गर्न सकिने घिमिरेले बताए । केबलकारको साधारण टिकट दर एक हजार रुपैयां हो । यद्यपि कम्पनीले अर्को निर्णय नहुंदासम्मका लागि ७५० रुपैयां कायम गरेको छ । यो छुटको सुविधा बिहान ९ बजेदेखि सांझ ६ बजेसम्म लिनसकिने कम्पनीले जनाएको छ ।

यो छुटको सदुपयोग गर्दै ६० वर्ष माथिका आफ्ना आमा, दिदी, बहिनीहरुलाई केबलकारको यात्रा गराउन कम्पनीले सबैमा आग्रह गरेको छ । गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । हाल नेपालमा सञ्चालित ६ वटा मध्ये लुम्बिनी केबलकार दोस्रो लामो केबलकार हो । बुटवल बमघाटमा रहेको तल्ले स्टेशनबाट १२ मिनेटमा केबलकारको टप स्टेशन बसन्तपुर पुगिन्छ । बसन्तपुरमा तराईमा भन्दा करिब १० डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा गर्मी सिजनमा शितल महसुस हुने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।