युवा अनि राजनिती

प्रकाशित मिति:

दिनमणी पंगेनी- इतिहास साक्षी छ । देशको हरेक आमुल परिवर्तनमा युवाको अहम भूमिका छ । चाहे शहिद गंगालाल, धर्मभक्त, शुक्रराज, दशरथ चन्द होस चाहे गणेशमान, विपी, मदन, मनमोहन सबै युवा अवस्थामै ऐतिहासिक उपलब्धि र योगदान गरेका व्यक्तित्व हुन । हुन त युवा नभएको र बृद्ध नहुने कोही हुँदैन तर हेक्का गर्नुपर्ने विषय यो हो की युवा समयमा रहँदा भावि पुस्तालाई के सन्देश दिन सक्यौ ? देश र समाजलाई के योगदान गर्न सक्यौं ? त्यो बल्ल महत्वपूर्ण कुरा हो । युवालाई अनिवार्य रुपमा निति निर्माणको तहमा पहूँच गराउनाले भविष्यमा खारिएको राजनेता मात्र होइन, वर्तमानमा उत्साही र जागरुक नेतृत्व समेत प्राप्त हुन सक्छ । वर्तमान राजनितिमा आदर्शवान सक्षम युवा नेतृत्वमा नआउनु भनेको भविष्यमा राजनितिक नेतृत्वमा संकट आउनु हो । तर नेपालको राजनितिमा युवालाई धेरै नै चुनौतिको सामना गर्नु पर्ने स्थिती छ । नेपालको राजनितिमा आफु बाहेक विकल्प नदेख्ने नेतृत्वको भावनाले युवा नेतृत्वलाई पछि पारिरहेको छ । यही युवा उमेरमा करियर, विवाह तथा धन आर्जन गर्ने उर्जावान उमेरमा बेतलवी समाजसेवा गर्नुपर्ने कम उमेरको (अपरिपक्व) सम्झेर समाजले विविध कारण देखाउदै राकेको छ ।

यसैले पनि अव आउने युवा नेतृत्व वहुतै सक्षम र आदर्शवान बनेर आउनु पर्ने जरुरी छ । युवामा संगठानिक क्षमता, भिजन, प्रतिस्पर्धामा उत्रन सक्ने क्षमता मात्र होइन उच्चतम नैतिक चरित्र र आदर्शपूर्ण व्यवहार हुनु पर्छ । छिटो पदको लोभमा युवा दिमाग चरित्र विकास भन्दा पनि नेताको लागि लडाई झगडा गर्ने क्रियाकलापले समग्र युवा पंक्तिलाई लज्जित तुल्याउन सक्छ । अवको युवामा त यस्तो विवेक हुनुपर्छ जसले पुरानो पुस्ताबाट सहजतापूर्वक राजनितिक वागडोर खोसेर लिन सकोस । आदर्शतम र नैतिक बाटो अवलम्वन गर्दै प्रगतिको चुली ताक्दै, तृष्णा राख्दै अझ उचाई तर्फ लम्कन सकोस । यसैले पनि युवा विचार, कर्तव्य, जिम्मेवारी, सोंचविचार सबैले सक्षम हुनु पर्छ । जसले उन्नत चेतनाको प्रयोग गरी सहीलाई सही र गलतलाई गलत भन्न सकोस, पदको लागि होइन विचारको राजनिति गर्न सकोस । धन, पदको लोभमा भिडभाडको जोगाड नबनोस । धन र पदको लोभले अन्धभक्त भई युवा दिमागलाई चरित्र विकास भन्दा पनि नेताको लागी लडाई झगडा गर्ने साधनको रुपमा मात्र प्रयोग नहोस ।

किनकी नेता भक्त भई छिटो राजनितिक उचाई हासिल गर्ने मनसुवाले युवाको आलोचनात्मक चेतलाई शुन्य पार्दछ । युवा शक्ति गर्नको लागि हो मर्नको लागि होइन । राजनितिमा सान्दर्भिक र सम्भावित हुन सकेन भने ढिलो चाडो त्यसको अन्त्य हुन्छ । यसैले सान्दर्भिक र सम्भावित हुन सकोस। नैतिक चरित्र आदर्श यस्तो होस की आगामी पिढीले अनुसरण गर्दै त्यो वड्प्पनको स्विकार गर्न सकोस । अनियमितता, नागरिक अधिकार, लोकतान्त्रिक विधि पद्धतिको रक्षा, भ्रष्टाचार रहित समाज सदाचार, उच्च नैतिक संस्कार र उच्च समाजिक आदर्श बोकेर समग्र युवा पंक्तिमा मोडल –नमुना) बन्न सकोस । असहमतिको आवाज उठाउने, निश्पक्ष भएर सोच्ने, शक्ति माथि आलोचना गर्ने र न्यायको पक्षमा अडीग रहने क्षमता सधै रहोस । यसैले हे युवा हो आउनुहोस, समय मै युवा अवस्थामै रचनात्मक काम गरौं, आदर्शतम् युवा बनौ । जालझेल, ढाकछोप, चम्चागिरी झोले, हनुमान गिरी छोडौं ।