मेस्सी-रोनाल्डोको आधिपत्य सकिएको वर्ष २०१८

प्रकाशित मिति:

बुटवल १६, पुष । विगत १० वर्षदेखि विश्व फुटबलमा यस्तो कुनै वर्ष छैन होला, जहाँ विश्व फुटबलका हस्तीहरु लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको चर्चा नभएको होस्। यस्तै २०१८ मा पनि यी दुई खेलाडीहरु धेरै चर्चामा रहे । यस्तोमा पछिल्लो समय भने उनीहरुको चर्चा सेलाएको छ। विशेषगरी विश्वकप फुटबलसँगै यी दुई खेलाडीमाथिको चर्चा सेलाएको हो।
विश्वकप फुटबल
सन् २०१८ को रुस विश्वकपमा पोर्चुगल र अर्जेन्टिनाका स्टारले आफ्नो टोलीलाई प्रि–क्वार्टरभन्दा माथि लैजान सकेनन्। भलै उनीहरुले प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए । यो प्रतियोगितामा क्रोएसियाका लुका मोड्रिच, इंगल्याण्डका ह्यारी केन, बेल्जियमका रोमेलु लुकाकु, फ्रान्सका कायलिन एमबाप्पेजस्ता खेलाडीहरु चर्चित रहन पुगे।
फिफा वर्ष खेलाडी
२०१८ को फिफा ‘द बेस्ट’ अवार्ड क्रिएसियन खेलाडी लुका मोड्रिचले जितेका छन् । शीर्ष तीन स्थानमा रियाल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचसँगै इजिप्सियन खेलाडी (लिभरपुलका) मोहमद सलाह रहेका थिए। मोड्रिचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए। मोड्रिच फिफा विश्वकपको गोल्डेन बल विजेता पनि रहेका थिए। मोड्रिचले अर्जेन्टिनाविरुद्ध विश्वकपमा स्तरीय गोल गर्दै आफूलाई मिडफिल्डबाट गोल गर्न सक्ने क्षमता देखाएका थिए। यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोड्रिचले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे। उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए।
बालोन डीओर
मेस्सी र रोनाल्डो निरन्तर दुई खेलाडी नै आलोपालो १० वर्षसम्म सर्वोत्कृष्ट हुँदै गएकामा त्यो रेकर्ड तोड्दै क्रोएसियन खेलाडी लुका मोड्रिच बालोन डीओर पनि हात पारे। सन् २००७ मा पूर्व ब्राजिलियन तथा इटालियन क्लव एसी मिलानका फरवार्ड काका यो अवार्ड जितेपछि मेस्सी र रोनाल्डोबाहेक अन्य कुनै खेलाडीले जित्न सकेका थिएनन्। ३३ वर्षे मोड्रिचले गत मे मा मड्रिडबाट लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। त्यस्तै क्रोएसियालाई विश्वकपमा पहिलो पटक पुर्याउन सफल भएका थिए। विश्वकपको फाइनलमा उत्कृष्ट खेलेका मोड्रिच विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।
सकिएको हो मेस्सी–रोनाल्डोको आधिपत्य ?
यस वर्ष मेस्सी र रोनाल्डोले एक दशकदेखि राख्दै आएको वर्चस्व क्रोएसियाका खेलाडीले भङ्ग गरे। त्यसका साथै विश्वभर कायलिन एम्बाप्पे, एन्टोइन ग्रिज्म्यान, मोहम्मद सालाहजस्ता खेलाडीहरुको पनि महत्वपूर्ण चर्चा बढुल्न सफल भए। च्याम्पियन्स लिगमा रोनाल्डो आफ्नो टोली रियल मड्रिडलाई उपाधि जिताएका थिए तर फाइनलमा पुगेको लिभरपुलका मोहम्मद सालाहले पनि निकै राम्रो प्रदर्शन गरेका थिए। पछिल्लो समय उदाउँदा खेलाडीहरुको राम्रो प्रदर्शन र उनीहरुको व्यक्तिगत प्रदर्शन आशा गरिएअनुरुपको हुन नसक्नुले उनीहरुको अधिपत्य आगामी दिनमा रहन्छ त ? भन्ने प्रश्नचिह्न खडा भएको छ।