वालिङ-स्याङ्जाको वालिङ नगरपालिकाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिनु सुरु गरेको छ । वालिङ नगरपालिकामा सञ्चालनमा रहेको वालिङ कृषि विकास परियोजना अन्तर्गत वडा नं.२ मा तीन दिने तालिम सुरु भएको हो ।तलिमको शुभारम्भमा बोल्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले साना किसानलाई उत्पादनमा जोड्न पालिकाले विभिन्न काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,“उत्पादन बृद्धि भएमा मात्रै कृषकले आर्थिक लाभ लिन सक्छ ।”
कृषकले उत्पादन गरेको सामाग्रीको बजारको जिम्मा नगरपालिकाले लिने भन्दै उपप्रमुख तिवारीले बजारको चिन्ता नगर्न कृषकलाई आग्रह गर्नुभयो ।
छिाटो र दिगो उत्पादन हुने कृषि खेती तर्फ ध्यान दिन उपप्रमुख तिवारीको सुझाव छ ।कार्यक्रममा वालिङ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले अर्गानिक कृषि खेती तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो । उत्पादन धेरै गर्ने र लगानी कम गर्ने तरिका अपनाउनु पर्ने उहाँको भनाई छ । वडाले कृषकलाई ध्यानमा राखेर काम गरिरहेको जानकारी दिनभयो ।कार्यक्रम अन्तर्गत प्रदान गरिने कृषि औजारमा ७५ प्रतिशत अनुदान दिन आवश्यक रहेको भन्दै वडा अध्यक्ष लम्सालले पालिकाको तर्फबाट यसलाई ध्यानमा राख्नु पर्ने बताउनु भयो ।आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मूलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा तीन दिने आधारशिला तालिम सुरु गरेको हो ।वालिङ नगरपालिका २ को हरियाली स्वावलम्वन महिला कृषक समूहका ३५ जना महिला सदस्यहरु तलिममा सहभागीता रहेको छ । तालिममा वालिङ कृषि विकास परियोजनाका कर्मचारीहरु सुस्मिता पौडेल र माया कुँवरले सहजीकरण गर्नुहुनेछ ।