प्रकाश न्यौपाने
जेठ २४ गते
नवलपरासी । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १५ र १६ को सीमा केराबारीमा एक अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । एक इलाका प्रहरी कार्यालय र एक अस्थायी प्रहरी चौकी रहेको बर्दघाट नगरमा शुक्रबार एक अस्थायी प्रहरी पोष्ट थपीएको हो ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले प्रहरी पोष्टको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले समाजमा शान्ती सुरक्षा र अमन चयन नभएमा अन्य बिकास निर्माणले मात्रै अर्थ नराख्ने बताउनु भयो । लामो प्रयासका बाबजुद संवेदनशील रुपमा लिइएको केराबारी क्षेत्रमा प्रहरी चौकी स्थापना हुनुले तस्करी लगायत अन्य अपराधीक गतिविधि नियन्त्रणमा टेवा पुग्ने उहाँले विश्वास ब्यक्त गर्नु भयो । केही समय अघि सुनचाँदी व्यवसायीमाथि केराबारीमा गोली प्रहार भएको थियो ।
बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले आम नागरिक बिना बर्दिका प्रहरी रहेको बताउदै समाजलाई शान्त र अमनचयन राख्न सबैको महत्त्वपूर्ण भुमिका हुने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले कानुनको रक्षा गर्दै आफ्नो नैतिकमा आच आउने काम नगरी कार्य सम्पादन गर्न निर्देशन दिनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले अस्थायी प्रहरी चौकीमा सङ्ख्यात्मक रुपमा जनशक्ति कम भएपनी मनोबल भने उच्च राखेर काम गर्ने उल्लेख गर्नु भयो । कानुन कार्यान्वयनका कुरामा नागरिक मैत्री भएर काम गर्न समेत निर्देशन दिनुभयो । जिल्लामा प्रहरी जनशक्ति न्यून रहेको र एक जना प्रहरीले ६ सय जना नागरिक लाई सेवा दिनु पर्ने भएकाले नागरिकको साथ र सहयोगले मात्र प्रहरी सफल हुने प्रहरी उपरीक्षक आचार्यले बताउनु भयो ।
बिगत लामो समय देखि तत्कालीन वडा अध्यक्ष सुक बहादुर गुरुङको कार्यकालमा संविधान सभा सदस्य बिक्रम खनालले चौकी स्थापना लागि गरेको पहललाई वर्तमान जनप्रतिनिधिले निरन्तरता दिएर प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बर्दघाट १६ का वडा अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनुभयो ।
बर्दघाट नगरपालिका वडा नम्बर १४, १५, १६ र सुस्ता गाउपालिकाको वडा नम्बर १ हेर्ने गरि अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो । कार्यक्रममा बर्दघाट नगरपालिकाका जनप्रतिनिधि, स्थानीय समाज सेवी, राजनीति दलका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।