रुपन्देही प्रहरीद्वारा बेलहियामा ओभरलोड सवारी साधन माथि रोक

प्रकाशित मिति:

पुस १६, बुटवल / सबलपोस्ट

रुपन्देही प्रहरीले सीमानाका बेलहियामा भारतीय ओभरलोड सवारी साधनलाई रोकेको छ ।यातायात व्यवस्था विभागले ओभरलोडलाई नियन्त्रण गर्न पत्राचार गरे अनुसार आफूहरूले भारतीय ओभरलोड गाडीहरूलाई रोकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवम् प्रहरी निरीक्षक बेद पौडेलले जानकारी दिनुभयो ।
उहाका अनुसार बेलहिया नाकामा अहिलेसम्म औद्योगिक कच्चा पदार्थ बोकेका ३० भन्दा बढी ओभरलोड गाडीहरु रोकिएका छन्।गृह मन्त्रालयको निर्णयअनुसार औद्योगिक कच्चा पदार्थ बोकेका भारतीय ओभरलोड गाडीहरुलाई नाकादेखि बढीमा १५ किलोमिटरसम्म जान छुट दिइएको थियो ।

१५ किलोमिटरको नाममा भारतीय ओभरलोड गाडी कपिलवस्तु र नवलपरासी जिल्लाका उद्योगसम्म समेत पुग्ने गरेको बताइएको छ । बेलहिया नाकाबाट छिरेका ४४ वटा भारतीय ओभरलोड गाडीलाई कपिलवस्तु ट्राफिक प्रहरीले पनि नियन्त्रणमा लिएर कारबाही गरेको बताएको छ ।०७४ कार्तिक २४ गते गृह मन्त्रालयको तत्कालीन सहसचिव कृष्णबहादुर राउतको संयोजकत्वमा बसेको बैठकले औद्योगिक कच्चा पादर्थ बोकेका ओभरलोड गाडीलाई नाका देखि बढीमा १५ किलोमिटरसम्म छुट दिने निर्णय गरेको थियो।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात व्यवस्था विभागको पत्र अनुसार प्रहरीले भारतीय ओभरलोडका गाडीलाई नियन्त्रण लिइ कारवाही गर्नु र भारमिलान गराउनु कार्य स्वागतयोग्य रहेको बताउनु भयो ।उहाले सरकारले निर्णयको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।