प्रहरीको अभद्र व्यवहारः युनियनद्वारा आपत्ति प्रकट

प्रकाशित मिति:

काठमाडौँ, १७ पुस । नेपाल प्रेस युनियनले नेपाल टेलिभिजनका कञ्चनपुर समाचारदाता पदमराज बोहोरालाई प्रहरीले अभद्र व्यवहार गरी कुटपिट गर्नाका साथै हिरासतमा लिएको घटनाप्रति आपत्ति प्रकट गरेको छ ।यही पुस १३ गते राति महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार सङ्कलनका क्रममा पत्रकार बोहोरालाई परिचयपत्र देखाउँदा पनि प्रहरीले अभद्र व्यवहार, कुटपिट र हिरासतमा लिएको भन्दै युनियनले सो कार्यप्रति खेद व्यक्त गरेको छ ।

प्रहरीले पत्रकार बोहोराको परिचयपत्र च्यात्नुका साथै क्यामेरासमेत तोडफोड गरेको घटनाले उक्त क्षेत्रमा कार्यरत पत्रकार भयमा रहनाका साथै प्रहरीको हिंस्रक रुप उदाङ्गो भएको जनाएको छ ।कुटपिट र तोडफोडमा उत्रिएको प्रहरीले पत्रकार बोहोरालाई ज्यान मार्ने धम्कीसमेत दिएको घटनाको निष्पक्ष छानबिन गर्न युनियनले माग गरेको छ ।पीडितको क्षति पुर्याइएको सञ्चार सामग्री उपलब्ध गराई तथा दोषी प्रहरीलाई कारबाहीको माग गर्दै भयरहित वातावरणमा समाचार सङ्कलन गर्ने वातावरण बनाउन प्रशासनसहित सम्बन्धित सरोकारवालासमक्ष युनियनले माग गरेको छ ।