जनसंघर्ष ३५ औं वर्ष प्रवेशका अवसरमा विभिन्न महानुभावहरुलाई अभिनन्दन तथा सम्मान

प्रकाशित मिति:

बुटवल- असार । बुटवलबाट निरन्तर प्रकाशित हुँदै आएको लोकप्रिय पत्रिका जनसंघर्षले बुधबार एक भव्य कार्यक्रमका बीच ३५ औं वार्षिकोत्सवको अवसरमा अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले जनसंघर्षले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका संस्थापक डा. चापागाईंलगायतको सिङ्गो टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन् । उनले रुपन्देही लगायत राष्ट्रियस्तरमा जनसंघर्षले हरेक आन्दोलन र परिवर्तनमा जनताका आवाजहरुलाई बुलन्द गर्न अभिप्रेरित गरेको बताईन् ।त्यस्तैगरी वार्षिकोत्सवका अवसरमा संस्थाले रुपन्देहीको पत्रकारिताको ईतिहासमा ६ दशकभन्दा बढी पत्रकारितामा योगदान दिने अग्रज पत्रकारहरुलाई अभिनन्दन गरिनुका साथै पत्रकारिताको माध्यमबाट योगदान दिएका दिवंगत पत्रकारलाई मरणोपरान्त सम्मान पनि गरिएको छ ।

संस्थाले अग्रज पत्रकारहरु वसन्तध्वज जोशी, हरि प्रसाद ज्ञवाली, कर्ण बहादुर कार्की, मदनलाल पौडेल, रामचन्द्र भट्टराई, अर्जुन ज्ञवाली र नारायण प्रसाद सापकोटालगायतलाई अभिनन्दन गरेको छ । कार्यक्रममा जनसंघर्षको स्थापनाकालदेखि हालसम्म संस्थामा विभिन्न तहमा बसेर योगदान दिने पूर्व कर्मचारी एवम् पत्रकारहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरियो ।त्यस्तैगरी दिवंगत अग्रज पत्रकार, लेखक तथा साहित्यकारहरु सूर्यलाल, प्रयागलाल श्रेष्ठ, प्रतापकुमार भट्टचन, प्रा. बालकृष्ण भट्टराई, बाबुराम अर्याल, आरसी चापागाईं, प.बाबुराम भट्टराई, वसन्त पोखरेल र विकास केसीलाई मरणोपरान्त सम्मान गरिएको थियो । यसैबीच जनसंघर्षको भौतिक विकासमा योगदान दिएको भन्दै स्वर्गीय रतनलाल अग्रवाल र संघरत्न बज्राचार्यलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, जनसंघर्षका सल्लाहकार तथा समाजसेवी अनुपमान सैजू, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार गोविन्द खनाल, अग्रज पत्रकारहरु मोहन चापागाईं, दीपक ज्ञवाली, नारायणप्रसाद पौडेल, हरि लम्साल, ऋषि आजाद, शेर बहादुर केसी, अधिवक्ता पदम बहादुर कार्की, पूर्व कर्मचारी खुमा भण्डारीलगायतले बोल्दै जनसंघर्षको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा जनसंघर्षका संस्थापकः प्रधान सम्पादक तथा प्रकाश डा. बालकृष्ण चापागाईंले बोल्दै तीन दशकभन्दा बढी लामो ईतिहास बोकेको जनसंघर्ष सबैको साथ र सहयोगले ३५ वर्षको यात्रा प्रारम्भ गरेको बताए । उनले स्थापना कालदेखि हालसम्म जनसंघर्षमा जोडिएर प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा आर्थिक, भौतिक तथा विभिन्न प्रकारले सहयोग गर्ने संस्थाका सेयर सदस्य, पत्रकार, कर्मचारी तथा शुभेच्छुकहरुलाई हार्दि धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् । उनले जनसंघर्षलाई यहाँसम्म ल्याउन हरेक प्रकारले सहयोग गर्ने सबैलाई अभिनन्दन तथा सम्मान गर्न पाउँदा थप उर्जा र उत्साह थपिएको बताए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व तथा विभिन्न संघसंस्थाहरुको प्रतिनिधिमुलक उपस्थितिमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशका अध्यक्ष नवराज कुँवर, राष्ट्रिय समाचार समिति (रासस) लुम्बिनी प्रदेशका कार्यालय प्रमुख भरत केसी, रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष विस्वास ढकाल, सञ्चारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, कुलमणि ज्ञवाली भैरहवा, केशव पराजुली नवलपरासी, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पोखरेल, समाजवादी प्रेस संगठन रुपन्देहीका उपाध्यक्ष उषाकिरण पन्त, माधव प्रसाद अर्याल पाल्पा, गोपाल जिटी स्याङ्जा,लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम जनसंघर्षका प्रबन्ध सम्पादक रामप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।