घरजम गरि सुखि जीवन बिताउने सपना शबसंगै खरानी भयो
प्रकाश न्यौपाने
असार ३१ गते
नवलपरासी । घरजम गर्ने र सुखी साथ जीवन बिताउने उनको सपना अधुरै रहेको छ । सपनालाई मन मनै सजाएर आफ्नो काममा कटिबद्ध रहेका थिए । बस चलाउने र त्यसबाट आएको आम्दानीले बिहे गर्ने र एउटा सानो र सुखी परिवार बनाउने उनको सपना उनको शब संगै जलेर खरानी भएको छ ।
जिवनमा ठुला सपनाहरू नभएता पनि पहिलो विवाह सम्बन्ध विच्छेद भए पछि , एउटा सानो घर बनाउने र पुन: घरजम गरि सुखिसाथ जीवन बिताउने उनको सपना शब जलाउदा खरानी भएको हो । उनको दाजु तेज बहादुर बि.क.ले दिएको दागबत्ती र उनको पार्थिव शरीर सङ्गै उनी र उनले बुनेका सबै सपनाहरु जलेर खरानी भए ।
आफू मरेर यात्रु जोगाएका पश्चिम नवलपरासी सुनवलका बस चालकको शबको अन्त्यष्टि गरिएको छ । नारायणघाट मुग्लिङ् सडक खण्डको सिमलताल नजिक पहिरोले खसेको ढुङ्गाको प्रहारले मृत्यु भएका सुनवल ४ नवलपरासीका चालक मेघनाथ बि.क.को शव पवित्र स्थल त्रिवेणी धाममा अन्तेष्टि गरिएको छ ।
पहिरोको ढुङ्गाको प्रहारले अचेत हुदा पनि आफु सङ्गैका यात्रुकै चिन्तामा रहि बसलाई सहिरूपमा सहिठाउमा लगि रोकी सबै यात्रुलाई बचाउन सफल चालक मेघनाथ बि.क.को शव पवित्र स्थल त्रिवेणी धाममा अन्तेष्टि गरिएको हो। जिवनका छत्तीस बसन्तहरु विभिन्न सुख -दु:ख ,उतार चढावका साथ भोलिको भविष्य सुन्दर छ भनी सोच्दै हिड्ने मेघनाथ आफ्नो चालक पेशामा मात्रै नभई गाउँ समाजमा परिआउने हरेक खालको समस्यामा समेत सहयोगका लागि सम्मिलित हुन्थे त्यसैले त हिजो आज उनि बस्ने सम्पूर्ण गाउँनै उनको सम्झनामा भावविव्हल छ।
यहि असार २८ गते बिहान करिब २:३० बजे नारायणघाट मुग्लिङ् सडक खण्डको सिमलताल नजिक पहिरोले खसेको ढुङ्गाको प्रहार सहेर हामीलाई बस सहित नारायणी नदिमा खस्नबाट बचाएता पनि आज उसकै शरीर खरानी बनाई त्यहि नदिमा बगाउनु पर्यो यो कस्तो दैवको नियति मृतक मेघनाथ बि.क.सङ्गै दुर्घटनाको समय पनि सङ्गै बसमा सवार बसका स्टाफ बासु पौडेल मेघनाथको अन्तेष्टिको समयमा समेत गहभरि आशु पारि उनलाई सम्झिरहे।
नेपालमा वर्षेनि वर्षातको समय र चाड पर्वमा सवारी दुर्घटना उच्चतम हुने गरेतापनि यातायातका लागि बसको विकल्पमा रेल र प्लेनको सहजता नहुनु , बाटोको भौगोलिक बनावट पनि दुर्घटनाको प्रमुख कारण मान्न सकिन्छ ।केही अपबाद बाहेक धेरैजसो दुर्घटनाका केसमा सिधै चालकलाई दोषी मान्ने हाम्रो परिपाटीलाई मेघनाथ बि.क. एक उदाहरण हुन जसले आफ्नो ज्यान बलिदान गरि सम्पूर्ण यात्रुलाई सकुशल बचाए। यहि घटना प्लेनमा हुन्थ्यो भने पाइलटलाई मरोणपरान्त राज्यले कति सम्मान र परिवारलाई समेत सेवा सुविधा मिल्थो तर हामी चालक दिनहुँ ज्यान हत्केलामा राखी यात्रुलाई गन्तव्यमा पुर्याउन तल्लिन हुन्छौं तर हामीलाई हार्दिक समबेदना भन्नुबाहेक राज्य र सम्बन्धित निकायले केही गर्न सकेको छैन तर मेघनाथ हामी र हाम्रो पेशाको लागि एक उदाहरणहो उसलाई राज्य र सम्बन्धित निकायले उसको अन्तिम घडि सम्म उसले गरेको कार्यलाई प्रशसा गरि उचित सम्बोधन गर्न सक्नुपर्दछ । मेघनाथको अन्तेष्टिमा सम्मिलित अधिकाश यातायात कर्मचारीहरुको धारणा रहेको थियो ।