आकाशले सम्हाल्ने भए पूजाको मन

प्रकाशित मिति:

लभस्टोरी फिल्म बनाउन सिपालु सुदर्शन थापाले निर्देशन गर्ने नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ स्टारकास्टका कारण केही समयदेखि चर्चामा छ । अहिलेकी ‘हटकेक’ पूजा शर्मा लिड रोलमा रहने फिल्ममा नव–नायक सोनम तोप्देन पनि अनुबन्ध भइसकेका छन् । यो फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण हुँदैछ ।
फिल्ममा दुई हिरो हुने निर्देशक सुदर्शन थापाले बताउँदै आएका थिए । एक नायक सोनम हुने फाइनल भए पनि दोस्रो नायकको नाम निर्माण टिमले लुकाउँदै आएको थियो । फिल्मीखबरलाई एक्सक्लुसिभ रुपमा प्राप्त जानकारी अनुसार, केही हप्ता अगाडि मात्र फिल्ममा अभिनेता आकाश श्रेष्ठ अनुबन्ध भएका छन् ।

फ्लोरमा जानुभन्दा केही दिन अगाडि साइन गरेको फिल्म ‘वीरविक्रम २’ छाडेको उनी १० लाख पारिश्रमिकमा पूजाको हिरो बन्न तयार भएको जानकारी प्राप्त छ । यसअघि सुदर्शनले यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ मा उनलाई हिरो बनाएका थिए । अब आकाश र सुदर्शन दोस्रो पटक सहकार्य गर्दैछन् ।
सुदर्शन, आकाशभन्दा अगाडि फिल्ममा अभिनेता आर्यन सिग्देल लिने सोचमा थिए । तर, उनी विकासराज आचार्यको नयाँ फिल्म ‘हजार जुनीसम्म’ मा अनुबन्ध भएपछि सुदर्शनले आकाशलाई पूजाको हिरो बनाउन लागेका हुन् । धेरैपछि सुदर्शन र पूजाले बाहिरी ब्यानरको फिल्म गर्न लागेका हुन् ।
‘सम्हालिन्छ कहिले मन’ लाई अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापाले निर्माण गर्दैछन् । फिल्ममा १५ लाख पारिश्रमिक लिएको एग्रिमेन्ट पेपर पूजाले सार्वजनिक गरिसकेकी छन् । नव-नायक सोनमले भने साढे ८ लाख पारिश्रमिक बुझेको खबर प्राप्त छ । फिल्ममा सरोज खनाल पनि फाइनल भइसकेका छन् ।

किन छाडेका थिए आकाशले ‘वीरविक्रम २’ ?

‘ड्रिम गर्ल’ रिलिज लगत्तै अभिनेता आकाशले मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वीरविक्रम २’ साइन गरेका थिए । तर, फ्लोरमा निस्किनुभन्दा केही दिन अगाडि उनले हजारबुबा विरामी भएको कारण देखाउँदै फिल्म गर्न नसकेको फेसबुकमार्फत् जानकारी दिए ।
स्रोतका अनुसार, उनले आफ्नो भागको सिन काटिएपछि फिल्म छाडेका हुन् । निर्देशक चाम्सले अर्का अभिनेता नाजिर हुसेनलाई शक्तिशाली बनाएपछि आकाशले ‘वीरविक्रम २’ नगर्ने निर्णय लिएका थिए । यो फिल्म छाड्नुको कारण ‘सम्हालिन्छ कहिले मन’ पनि प्रमुख रहेको चर्चा छ ।
रोचक कुरा के थियो भने, जुन दिन आकाशले ‘वीरविक्रम २’ छाडेको जानकारी दिएका थिए त्यही दिन पूजाले ‘सम्हालिन्छ कहिले मन’ साइन गरेकी थिइन् । के यो संयोगमा मात्र थियो त ? जे भए पनि पुनः ‘रामकहानी’ जोडीलाई पर्दामा हेर्न पाउनु दर्शकका लागि भने खुसीको कुरा हो ।