महेशपुर भन्सारले लक्ष्यको ९२ दशमलव ४१ प्रतिशत राजस्व संकलन

प्रकाशित मिति:
प्रकाश न्यौपाने
साउन १८ गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा १५ करोड ११ लाख ८० हजार ५ सय ३० रुपैया राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा १६ लाख ८५ हजार लक्ष्य राखेको भन्सार कार्यालयले लक्ष्यको ९२ दशमलव ४१ प्रतिशत राजस्व संकलन गरेको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुडालले बताउनु भयो ।

भन्सार कार्यालयले सबै भन्दा धेरै भन्सार महसुल आयातबाट राजस्व संकलन गरेको छ ।  १० करोड ३ लाख २४ हजार ८ सय ५९ राजस्व भन्सार महसुल, कृषि सुधार शुल्क ६ लाख ३१ हजार २ सय २०  रुपैया राजस्व संकलन गरेको छ । त्यस्तै अग्रिम आयकर ३६ हजार ३ सय २४, मुल्य अभिवृद्धि कर ४ करोड ४७ लाख ६१ हजार ६ सय २१ , अन्त शुल्क ४५ लाख ८० हजार ५ सय ४१ र अन्य ८ लाख ४५ हजार ९ सय ६५ रुपैया राजस्व संकलन गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

 गत आर्थिक बर्षमा राम्रो राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख चुडालले बताउनु भयो । ” महेशपुर भन्सार कार्यालयले आर्थिक बर्ष ०७९/०८० मा १० करोड ७३ लाख राजस्व संकलन गरेको थियो जुन लक्ष्यको ३२ दशमलव २८ प्रतिशत थियो । गत बर्ष हामीले लक्ष्यको ९२ दशमलव ४१ प्रतिशत राजस्व संकलन भएको छ ।” चुडालले भन्नुभयो ।

आर्थिक बर्ष २०७६/०७७ मा १३ करोड ४ लाख ६२ हजार, ०७७/७८ मा २७ करोड ३० लाख २१ हजार, ०७८/०७९ मा २२ करोड ३३ लाख ४५ हजार राजस्व संकलन गरेको थियो ।