नेपालकै भव्य नाम जस्तै चम्किने गुल्मीको विचित्र गुफा

प्रकाशित मिति:

पर्यटकीय सम्भावना बोकेको गुल्मीको विचित्र गुफामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको घुइचो लाग्न थालेको छ । गुल्मी सदरमुकाम तम्घासबाट १८ किलोमिटर मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डको राङदल चौरबाट ३० मिनेटको पैदल दुरीमा गुफा पुग्न सकिन्छ। त्यस्तै तम्घास सिमाघाट हुँदै धुर्कोट गाउँपालिकाको केन्द्र बर्बोट बाट बस्तुको चिल्लाट (मिलन्चोक) बाट करिव १५ मिनट हिंडेपछि गुफा पुग्न सकिन्छ । धुर्कोट गाउँपालिका–५ बस्तुस्थित विचित्र गुफाको पछिल्लो एक वर्षमा आन्तरिक र बाह्य गरी तीन लाख भन्दा बढीले अवलोकन गरिसकेको गुफाका संरक्षक भानुभक्त भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०८० चैतमा मात्र १७ जना फ्रान्सेली नागरिकहरूको टोली र १२ जनाको बेल्जियम, स्पेन एवम युरोपका बिभिन्न ठाउँँबाट पर्यटक गुफा हेर्न पुगेका थिए। विचित्र गुफा कुल १८५ मिटर लामो दुरी सम्म सहज ढंगले जान सकिन्छ ।गुफाभित्र पारदर्शी ढुंंगा, शिवलिंग, गाइका थुन र निकै कलिला चट्टानहरू रहेका छन्। अहिले विचित्र गुफा जाने धेरै सहज भएको उनको भनाइ छ। गुफा परिसरभित्र पनि धेरै भौतिक संरचना तयार भएका छन्। रेलिङ सहितको सिढि गाउँपालिकाको लगानीमा तयार भएको छ।त्यस्तै टाढाबाट आउने पर्यटकहरूलाई लक्षित गरेर पर्यटन सूचना केन्द्र निर्माणको काम पनि अन्तिम तयारीमा पुगेको छ। २०४५ सालमा ढेंडुवा लखेट्दै जाने क्रममा बस्तुकै बासिन्दा जनार्दन भण्डारी लगायतले गुफा पत्ता लगाएका थिए । त्यस गुफा महत्वपूर्ण राष्ट्रिय सम्पदाका रूपमा स्थापित हुन पुगेको भए पनि अझै यसको प्रचारप्रसार जरुरी रहेको संरक्षक भण्डारी बताउनुहुन्छ ।

हाल गुफा क्षेत्रमा कच्ची बाटो, नजिकै पिननिक जानेहरूका लागि प्रतिक्षालयका साथमा शौचालयहरू निर्माण गरिएको बिचित्र गुफा संरक्षण तथा बिकास समितिका अध्यक्ष सन्तोष गौतम सुनारले बताउनुभयो । बर्खाको समयमा पनि गुफा अवलोकनका लागि दैनिक १ सय भन्दा बढी पुग्ने गरेका छन्। गुफामा एकै पटक पाँच सय जना अट्ने भव्य ठाउँ छ। त्यसलाई सभाहल समेत भनिन्छ । सभाहलको माथि पट्टिको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ । शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायु, श्रीपेच लगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको छ । गुफामा फेला परेका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्ग लगायत नामाकरण गरिएको संरक्षक भानुभक्त भण्डारीले बताए । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थन र निकै कलिला चट्टानहरु रहेका छन् । गुफामा ११ कक्ष रहेका छन् भने गुफाभित्रको चौडाई फरक–फरक ठाउँमा तीनदेखि ६० फिटसम्म रहेको छ । सभाहलमाथि सिलिङमा कलात्मक बुट्टाले भरिएका आकृति छन्। बुट्टाहरूको बीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप समेत छ। गुफाको तल्लो सतह लेसाइलो माटोले बनेको छ । गुफाभित्र रहेका मार्गमध्ये पहिलो मार्गमा दुवैतर्फ कडा चट्टान, छतमा दरार एवम् चुनढुङ्गा, दोस्रो कक्षमा छतमा मण्डपाकार आकृति, तेस्रो कक्षमा नरसिंह अवतारको आकृति, चौथो कक्षमा शेष नागको आकृति, पाँचौ कक्षमा कृष्णले दही पोखेको आकृति रहेको छ । त्यस्तै सातौ कक्षमा अयोध्यापुरीबाट परिचित कक्ष पूजा मण्डप, नवैं कक्षमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदाको रथ र जटायुले माथिबाट आक्रमण गरेको मूर्ति, दशौं कक्षमा पारदर्शक पत्थर एवम् एघारौ कक्षमा गणेशको मूर्ति, रामचन्द्रको धनुषवाण राख्ने शोली लगायतको आकृति रहेको संरक्षक भण्डारीले जानकारी दिनुभयो । गुफामा मुख्य ढोकाबाट भित्र पसेपछि पाँचवटा द्वारहरुको प्राकृतिक आकार देख्न पाइन्छ ।