शान्ति नमुनामा राष्ट्रिय सेवा दल सिनियर डिभिजनको प्रथम प्रवचन

प्रकाशित मिति:

तिलोत्तमा, २७ साउन । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम गरिएको छ । कार्यक्रममा तारादल गण रामनगर, रुपन्देहीका प्रमुख सेनानी सञ्जीव सिंह सिंजापतिले तालिमका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा समन्वय अधिकृत सेनानी कान्छा शाहीले तालिमको सन्दर्भमा सहजिकरण गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुलप्रसाद लामिछानेले एनसिसि सिनियर डिभिजनलाई उत्कृष्ट बनाउनका लागि विद्यालयको तर्फबाट हरेक प्रकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
सहायक प्रधानाध्यापक लोकनाथ कंडेलको स्वागत तथा अर्का सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको कार्यक्रममा तालिमको प्रकृति, अवधि र पालना गर्नुपर्ने नियमहरुका सन्दर्भमा विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाइ जानकारी गराइएको थियो । साउन २७ गतेदेखि ७९ दिनसम्म विद्यालयमा तालिम सञ्चालन गरिने भएको छ भने तत्पश्चात २१ दिन नेपाली सेनाको ब्यारेकमा तालिममा सहभागी गराइनेछ । १ सय १५ जना विद्यार्थीहरु प्रारम्भिक छनौट चरणमा सहभागी भएकोमा ५५ जना अघिल्लो चरणका लागि छनौटमा परेका थिए । ती मध्ये ३६ जना अन्तिम चरणका लागि छनौट भएर तालिममा सहभागी भएका हुन् ।
तालिम अवधिभर जमदार प्रेम बञ्जाराले प्रमुख प्रशिक्षण दिनुहुनेछ भने इश्वर उपाध्याय र सन्तोष रेग्मीले विद्यालयमा रहेर सहजिकरण गर्नुहुनेछ । त्यस्तै विद्यालयमा एनसिसि समन्वय शिक्षकको रुपमा रञ्जित भण्डारी रहनुभएको छ ।
शान्ति नमुनामा यसअघि जुनियर डिभिजन समूह क्रियाशिल रहेकोमा उक्त समूहले दुईपटक वेष्ट प्लाटुनको उपाधि प्राप्त गरेको थियो । सिनियर डिभिजनको भने यो पहिलो समूह हो ।