दाउन्ने सडक खण्ड भासिदा यात्रा कठिन, आज देखी सडक मर्मत हुने

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
साउन २९ गते
नवलपरासी । नवलपरासी पश्चिम र नवलपरासी पुर्वको सिमानामा रहेको दाउन्ने सडक खण्डमा सडक भासिदा यात्रा कठिन बनेको छ । अघिल्लो वर्ष सडक छेउको घर भाँसिएको स्थानमा थप पहिरो जाँदा दाउन्नेमा सडक भाँसिएको छ।
सोमबार अपरान्ह ४ बजेतिर दाउन्ने मन्दिर प्रवेश गर्ने गेट अगाडिको सडक भाँसिएपछि दाउन्नेमा सवारीको जाम लागेको छ । एकतर्फ भीर र अर्कोतर्फ घरहरु भएकाले अघिल्लो वर्ष भाँसिएको सडक मर्मत भएको थिएन । गत बर्ष भासिएको सडक नजिकै अहिले भासिदा सडकको यात्रा थप कस्टकर बनेको छ । सामान्यरुपमा मर्मत गरिएको सडकमा फेरि पहिरोको समस्या थपिएको स्थानीय मिरा थापाले बताउनु भयो । ” पोहोर पनि अलिकति सडक भासिएको थियो अहिले पनि सडक भासिएको छ । सडक भासिदा सडकको यात्रा गर्ने यात्रु मात्रै नभई हामी स्थानीयलाई पनि समस्या भएको छ ।” थापाले भन्नुभयो । सडकमा परेको ससाना खाल्डाखुल्डी र भासिएको ठाउँमा तत्काल मर्मत गर्न कोहि कसैले ध्यान नदिएको थापाले उल्लेख गर्नु भयो ।
 अहिले दाउन्ने सडक खण्डको दाउन्ने मन्दिर जाने बाटो नजिकै सडक भासिएको छ । सडक भाँसिएका कारण यातायात एकतर्फीरुपमा मात्र संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलले बताउनु भयो । अहिले रातको समयमा मर्मत गर्न सम्भव नभएकाले सडक डिभिजन कार्यालयको संयोजनमा (आज) मंगलबारबाट मर्मतको काम सुरु हुने छ ।
बुटवल नारायगढ सडक खण्डका आयोजना प्रमुख ससान्क मिश्रले दाउन्ने सडक खण्डमा यात्रा सहज गराउन हर प्रयास भइरहेको बताउनु भयो । ” सडकमा परेका खाल्डाखुल्डी र केहि भासिएको ठाउमा हिजो (सोमबार) नै मर्मत गर्ने खोजेका थियौं तर राती पानी पर्‍यो भने मर्मत गरेको कम नलाग्ने हुने भएर हिजो (सोमबार) कम गरिएन आज (मंगलबार) बिहान देखी नै सडक मर्मतको काम गछौ ।” मिश्रले भन्नुभयो ।
बुटवल–नारायणगढ सडक विस्तारका क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर रहेको छ । सडकका खाल्डाखुल्डी तथा ठाउँठाउमा भासिएको सडकका कारण अहिले पूर्व–पश्चिम नवलपरासीको यात्रा गर्ने सवारीसाधन र यात्रु लामो जाममा बस्नु पर्ने बाध्याता रहेको छ । पूर्वबाट पश्चिम क्षेत्रमा जाने सवारी दुम्कीवास र पश्चिम क्षेत्रबाट पुर्बी क्षेत्रमा जाने सवारी साधनहरु दाउन्ने सडक खण्डको एस मोड देखी नै जाम हुने गरेको छ ।