राहदानी बनाउन पोर्चुगलबाट ३८ सय बढीको आवेदन- ७ करोड २० लाख राजस्व संकलन

प्रकाशित मिति:

भरत प्रधान- लिस्बन । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि पोर्चुगलबाट ३८ सय बढी नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ ।राजधानी लिस्बनमा सञ्चालित ‘घुम्ती शिविर’ बाट राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले ३ हजार आठ सय २९ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक तथ्यांक संकलन गरेको हो । शिविरबाट तीन सय २८ जनाको हराएको, एक सय २१ जना बालबालिकाको र तीन हजार तीन सय ८० जनाको नवीकरण गरी कूल तीन हजार आठ सय २९ जनाको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरिएको टोली प्रमुख एवम् विभागका निर्देशक मोतिबहादुर श्रीसले जानकारी दिनुभयो ।

शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामा लगायतका अत्यावश्यक कन्सुलरसम्बन्धी सेवासमेत प्रदान गरिएको निर्देशक श्रीसले बताउनुभयो । शिविरबाट दैनिक ४ सयको हाराहारीमा सेवाग्राही नेपालीलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । श्रीसका अनुसार अग्रिम अनलाइन आवेदन भरेर राजस्व बुझाइसकेका सबै आवेदकको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ । छुटेकालाई सेवा दिन, तयार भएको राहदानी वितरण गर्न र पोर्चुगलमा देखा परेको राहदानी लगायतका समस्यालाई मध्येनजर गरि छिट्टै विभागबाट अर्को टोली आउने श्रीसले बताउनुभयो ।शिविरबाट ४ लाख ९१ हजार पाँच सय ८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार पाँच सय ५४ रुपैयाँ राजस्व संकलन भएको टोलीले जनाएको छ । अगष्त २ तारिखदेखि शुरु भएको घुम्ती शिविर मंगलबार सम्पन्न भएको हो । टोलीले राहदानीको म्याद सकिसकेका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र पोर्चुगलमा जन्मेका बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गरेको थियो । घुम्ती शिविरबाट राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई राहत मिलेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले बताउनुभयो । शिविरबाट धेरै नेपालीले सेवा पाएको र पोर्चुगलमा देखा परेको राहदानीसम्बन्धी समस्या केही हदसम्म समाधान समेत भएको थापाले बताउनुभयो ।

पोर्चुगलमा नेपाली दूतावास नहुँदा राहदानीसम्बन्धी समस्या झेल्दै आएका नेपालीले शिविरमार्फत सेवा पाउँदा राहतको अनुभूति गरेका छन् । शिविरले विशेषतः यहाँको कागजी प्रक्रियामा रहेका तर राहदानीको म्याद गुज्रेका र राहदानी बिहीन भएका नेपालीलाई राहत मिलेको छ। घुम्ती शिविर मार्फत् पोर्चुगलमै राहदानी सेवा पाएको भन्दै सेवाग्राही नेपालीले खुशी व्यक्त गरेका छन् ।शिविरलाई गैरआवासीय नेपाली संघ पोर्चुगलले व्यवस्थापन गरेको थियो भने लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावाससहित यहाँ क्रियाशील नेपाली संघ-संस्थाले समन्वय र सहजीकरण गरेका थिए । १२ दिनसम्म सञ्चालन भएको शिविरमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका दुई गरी चार जना कर्मचारी खटिएका थिए ।

थप समाचार