पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति:

भरत प्रधान लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ। पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो। बडादसैँ र दीपावलीका अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ। पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ ।

नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताए। प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छ भने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा २० टिम बढीको सहभागिता रहने खेल संयोजक प्रजेश गुरुङले बताए। प्रतियोगिताबाट बचत भएको रकमले पोर्चुगलमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्लबको योजना रहेको गुरुङले बताए।