स्थानीय सरकारको नतिजा- गुणस्तर परीक्षणमा गाउँ भन्दा नगर कमजोर

प्रकाशित मिति:

स्याङ्जा । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशन गरेको आर्थिक बर्ष २०७९÷०८० को संस्थागत क्षमता स्वमुल्याङ्कन नतिजामा गाउँ भन्दा नगर कमजोर रहेको देखाएको छ । विभिन्न १० वटा शीर्षकमा स्थानीय निकायको कार्यसम्पादनलाई आधार बनाएर हरेक वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण (स्वमुल्याङ्कन) गरी नतिजा प्रकाशन गर्दे आएको छ । यो प्रतिवेदनलाई लिसाको रुपमा चिनिन्छ । शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरुको पहिचान गर्ने, आवद्यिक समिक्षाको आधारमा प्राप्त गर्ने र स्थानीय सरकारहरु बीच स्वस्थ्य प्रतिस्पर्धा गराउने उदेश्यले यो विधि अपनाइदै आएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको नतिजामा स्याङ्जाका ११ पालिकाहरु मध्ये गाउँपालिकाहरुले नै राम्रो नतिजा दिन सफल भएका छन् । गाउँ भन्दा नगर अझै सुगम र सक्षम मानिने भएपनि गुणस्तर परीक्षणमा नगरपालिकाहरुको नतिजा कमजोर देखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनको नतिजामा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका पहिलो बनेको छ । संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको नतिजामा स्याङ्जाका ११ पालिकाहरु मध्ये अर्जुनचौपारी गुणस्तर परीक्षणमा पहिलो भएको हो ।

अर्जुनचौपारी गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७.२५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपत् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वय शीर्षकमा ४.५ अंक सहित ८६ ल्याएर जिल्लाकै पहिलो हुन सफल भएको छ । अर्जुनचौपारी गाउँपालिका गतबर्षको नतिजामा पनि पहिलो भएको थियो ।यसै गरी फेदिखोला गाउँपालिकाले ८४.७५ अंक प्राप्त गरेर दोस्रो स्थानमा परेको छ भने कालीगण्डकी गाउँपालिका ८४.५० अंक प्राप्त गरी तेस्रो स्थानमा परेको छ । आँधीखोला गाउँपालिकाले ८४ अंक, वालिङ नगरपालिकाले ८२.५०, गल्याङ नगरपालिकाले ८२, भीरकोट नगरपालिका ८१.२५, हरीनास गाउँपालिका ६७.५०, बिरुवा गाउँपालिका ६७.२५, पुतलीबजार नगरपालिका ६६.२५ र चापाकोट नगरपालिका ५२.५० अंक प्राप्त गरेका छन् ।
यो नतिजाले गाउँपालिकाको भन्दा नगरपालिकाको सेवा प्रवाहमा निकै कमजोर रहेको देखाएको छ । समग्र नतिजामा नगरपालिका पाँचौ स्थानमा पुगेको देखिन्छ । पाँचौ स्थानमा वालिङ नगरपालिका रहेको छ । यो नतिजाले स्थानीय सरकार संचालन कसरी भएको छ भन्ने पनि सिकाउने मन्त्रालयले जनाएको छ । पालिकाहरुले ठिक रुपमा सेवा प्रवाह गरेका छन् वा छैनन् भन्ने समेत यो नतिजाले देखाउने भएकाले पालिकाहरुलाई नैतिक दवाव पर्ने समेत मन्त्रालयको दावी छ । हरेक बर्ष गरिने यो नतिजाले नगरपालिकाहरुलाई चुनौती थपिएको छ । ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा कार्यसम्पादन मुल्याङकनमा नगरपालिकालाई कमजोर नतिजाले प्रश्न उठाइरहेको छ ।