युवा,निति र राजनिति

प्रकाशित मिति:

समुन्द्र बिक्रम बराल -पोखरा- कुनै पनि देशको युवा शक्ति राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको महत्वपूर्ण योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाली युवा जनसांख्यीक लाभांशबाट फाइदा लिइ समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्न सक्ने अवसरको अवस्था रहे पनि राजनीतिक संक्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । युवाका अधिकार, चाहना र आवश्यकतालाई मूर्त रुप दिन एउटा दूरगामी दृष्टिका साथ ठोस र विशिष्ट रणनीति कार्ययोजना बनाउनु आजको आवश्यकता हो ।समाजको सबै पक्षमा प्रभाव पार्ने पक्ष भनेको राजनीति हो । कसैले राजनीति गर्दिन र गर्न हुँदैन भन्छ भने पनि उसले पनि राजनीति नै गरिरहेको हुन्छ । राजनीति नीतिहरूको नेता नीति हो । राजनीति ठिक हुँदा हरेक पक्षले सही गति लिइरहेको हुन्छ भने जब राजनीति बिग्रन्छ सबै पक्ष भद्रगोल अवस्थामा रहन पुग्दछ । राजनीतिलाई कतिपयले फोहोरी खेल भनेर नकारात्मक भाष्य बनाइरहेको वर्तमान सन्दर्भमा यो फोहोरलाई सफा गर्न पनि युवाले सचेतना पूर्वक राजनीति नै गर्नुपर्ने हुन्छ ।

राजनीति भनेको राज्यसत्तामा सञ्चालन गर्ने नीति हो । राजनीति गर्नु भनेको राज्यसत्ता सञ्चालन गर्नु वा सो तर्फ उद्धत हुनुलाई नै बुझिन्छ । त्यसैले कस्तो नीति भएको दल, कस्तो आचरण भएको नेता, कस्तो कार्यशैली भएको पार्टीले राज्य सञ्चालन गरेको छ भन्ने कुराले सो देशको भविष्य निर्धारण गर्दछ । यसर्थ पार्टीमा लाग्नु, राजनीति गर्नु भनेको पनि राष्ट्र निर्माणको महत्त्वपूर्ण पाटोसँग जोडिएको विषय हो । त्यसैले राजनीतिबाट युवा अलग रहन सक्दैन ।युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो। देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो।तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ। जे-जे भयो, भयो। अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ। नीति निर्माण तहमा वसेकाहरुलाई युवामुखि कार्यक्रम ल्याउनका लागि निरन्तर दवाव दिनुपर्छ । वेथिति, भ्रष्टाचारका विरुद्ध एकजुट भएर आवाज वुलन्द गर्न सक्नुपर्छ । देशलाई आत्मनिर्भर वनाउन आवश्यकता हेरेर पेशा, व्यवसाय गर्न सकेमा र वाहिरीवाट आयात हुन सामान रोक्न सकेमा पनि देशको पूँजी घरभित्रै रहेर आर्थिक उन्नती र विकासमा खर्च गर्न सकिन्छ ।