हिरापाटा बस्तीको दैनिकी- पानी बोकेर ल्याउने दिनको अन्त्य

प्रकाशित मिति:

स्याङ्जा । पुतलीबजार नगरपालिका १३ हिरापाटा बस्तीमा अहिले खुशी छाएको छ । दैनिक आधा घण्टादेखी एकघण्टा हिडेर पानी ल्याउने दिनको अन्त्य भएपछि सिङ्गो बस्तीमा खुशी छाएको हो । १५० घरधुरीलाई लिफ्टिङ खानेपानी आयोजना मार्फत एक घर, एक घारा निर्माण भएपछि सधै डोकोमा बोकेर खानेपानी प्रयोग गर्दै आएका नागरिकलाई सहज भएको छ । संघिय सरकारको सहयोगमा आर्थिक बर्ष २०७४÷०७५ बाट शुरु भएको आयोजना आर्थिक बर्ष २०८०÷०८१ मा सम्पन्न भएको छ ।स्याङ्जा संघिय निर्वाचन क्षेत्र १ का सांसद राजु थापाको बिशेष पहलमा आएको यो आयोजना सम्पन्न भएपछि ७ सय ९५ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । सम्पन्न भएको हिरापाटा खानेपानी तथा सरसफाई आयोजनाको उदघाटन संघिय सांसद राजु थापाले उदघाटन गरेर शुभारम्भ गरेका छन् । स्याङ्जावासी नागरिकहरु अझै पनि खानेपानी खोज्न हिड्नुपर्ने बाध्यता रहेको बताउदै सांसद थापाले अब त्यस्ता दिनहरु अन्त्य हुने धारणा व्यक्त गरे । लामो समय खानेपानीकै कारण दुख पाएका हिरापाटा गाउँका नागरिकले खानेपानी बोकेर खानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । यो आयोजना तपाईहरुको हो उनले भने,‘यसको संरक्षण र मर्मतमा ध्यान दिनुहोला ।’ जसले खानेपानीको दिगो व्यवस्थापन हुनेछ यो जिम्मेवारी निभाउनु होला सांसद थापाले उपभोक्तालाई सुझाए ।

दरौखोलामा इनार बनाएर दुई इस्टेज मार्फत लिफ्टिङको माध्यमबाट खानेपानीको व्यवस्था गरिएको छ । यो गुणस्तर सहितको आयोजना भएकाले शुद्धिकरण सहित उपभोक्ताको घरमा खानेपानी पुग्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । शुद्धिकरण सहितको प्लान्ट भएकाले सिधै पानी पिउन मिल्नेगरी निर्माण गरिएको उनले बताए । उपभोक्ताको ४१ लाख बराबरको जनश्रमदान र संघिय सरकारको ३ करोड ५४ लाख गरी ३ करोड ९५ लाखमा यो आयोजना सम्पन्न भएको हो । एक घर, एक धारा अनुसारको अवधारणा भएकाले ८ सय १० मिटर पाईपलाईन बाट खानेपानी वितरण गरिएको कार्यालयले जनाएको छ । घर—घरमा खानेपानी आएपछि हिरापाटावासीले सरकार रहेछ भन्ने महशुष भएको बताएका छन् । पुतलीबजारका नागरिक खानेपानीबाट बन्चित नहुनेगरी कार्य योजना सहित अगाडी बढाइएको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताए । साना—साना योजनाहरु मार्फत खानेपानीको समस्या समाधानमा नगरपालिका लाग्ने र ठुला आयोजनाका लागि प्रदेश र संघिय सरकार मार्फत सहयोग मागेर पुतली बजारका नागरिकलाई खानेपानीको अभाव हुन नदिने नगर प्रमुख रेग्मीले बताए । खानेपानी जस्तो संवेदनशिल बस्तुमा तिनैतहका सरकारहरु चासो राख्नुपर्नेमा प्रमुख रेग्मीको जोड छ ।