लुम्बिनी एक्स्पो सकिन लाग्दा दर्सकको घुईचो,डान्स आइडलको उपाधि मगरलाई

प्रकाशित मिति:

१७ पुस, बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा सञ्चालित लुम्विनी एक्स्पो–२०७५ को बुधवार समापन हुने भएको छ । एक्स्पोको बुधवार दिउँसो २ बजे नेकपा प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननिय लिला गिरीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम राखिएको छ । एक्स्पोको ५ लाख ९० हजार दर्शकले अवलोकन गरेको र १८ करोड रूपैयाँको कारोवार भएको एक्स्पो मूल आयोजक समितिका संयोजक पदम प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ । एक्स्पोको आयोजना सोचे भन्दा सफल भएको श्रेष्ठले बताउनु भयो ।
एक्स्पो सकिन १ दिन मात्र बाँकी रहँदा मंगलवार पनि एक्स्पो अवलोकन गर्ने दर्शकहरु उत्साहाजन रुपमा आएको सचिवालयले जनाएको छ । एक्स्पोको खाद्यान्न, कृषि, अन्तराष्ट्रिय र अटोका स्टलहरूमा दर्शकले चासोपूर्वक अवलोकन गर्नुका साथै खरिदमा चासो राखेका थिए । स्टलधनीहरूले समेत एक्स्पोमा आफूहरू पूर्ण सन्तुष्ट रहेको बताएका छन् । समापन समारोहमा उत्कृष्ट स्टल एवं उद्योगी, सहयोगी संघसस्था लगायत विभिन्न व्यक्तिहरूलाई सम्मान गरिने कार्यक्रम समेत तय गरिएको छ ।

सांस्कृतिक कार्यक्रम
एक्स्पोको मनोरञ्जनात्मक कार्यक्रम मंगलवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत चर्चित लोक दोहोरी गायक बैकुण्ठ महत, लोक दोहोरी गायिका मञ्जु पौडेल, लोक दोहोरी गायिका पूर्णकला वि.सी., लोक दोहोरी गायक प्रसाद खप्तडी, हास्य कलाकार श्रीधर अधिकारी लगायतको प्रस्तुती रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैक मम्मी डान्स प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो । जसमा सुनिता गुरुङ प्रथम, दुर्गा थापा छन्तेल दोस्रो, प्रेणा केसी तेस्रो हुनु भएको थियो । विजेताले जनही १० हजार, ७ हजार ५ सय र ५ हजार नगद प्राप्त गरेका थिए ।
यता डान्स आइडल–२०७५ प्रतियोगिताको उपाधी लिजा मगरले चुमेकी छन् । उनले टप ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै आइडलको उपाधि कब्जा गर्न सफल भएका हुन । उपाधी बिजेता मगरले नगद पुरस्कार रु. १ लाख १ हजार नगदसहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् । दोस्रो उपाधी अनिषा गौतमले प्राप्त गरेकी छन् । द्वितीय उपाधीको पुरस्कार रु. ७५ हजार रहेको छ भने सोनी रानाले रु. ५० हजार पुरस्कार रहेको तेस्रो उपाधी प्राप्त गरेका छन् ।
संघले उपत्यका बाहिर बुटवलमा एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना गर्दै आएको छ । जारी मेलामा उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, भलिबल प्रतियोगिता विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, डान्स आइडल, मम्मी डान्स प्रतियोगिता सञ्चालन, गरिएको छ ।

साक्षात्कार कार्यक्रम
एक्स्पोका क्रममा मंगलवार मेला स्थलमा ‘आयात प्रतिस्थापन गर्दै निर्यात योग्य उद्योग व्यवसाय प्रबद्र्धनका लागि सामुहिक प्रयास’ विषयमा उद्योगी व्यवसायी र प्रदेश नं. ५ का उद्योग, वन, बातावरण तथा पर्यटन मन्त्री लिला गिरीसंगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा यस क्षेत्रमा उत्पादित वस्तुहरुको संरक्षण गर्दै आयात प्रतिस्थापन गर्न निर्यात योग्य उद्योग व्यवसाय प्रबद्र्धनका लागि सामुहिक प्रयास कसरी थाल्न सकिन्छ भनेर सामुहिक छलफल गरिएको थियो ।कृषिको व्यवसायिकरण तथा विविधिकरणका लागि गुणस्तरीय कृषि सामग्रीको आपूर्तिको सुनिश्चितता, आवश्यक पूर्वाधारहरुको पर्याप्त मात्रमा विकास तथा कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा हेर्नु पर्ने सुझाव कार्यक्रममा दिइएको थियो । बक्ताहरुले राज्यले कृषि, पर्यटन तथा हस्तकला क्षेत्रमा संलग्न साना कृषक तथा उद्यमीहरुलाई दिने सुविधा सहज प्रदान गर्न नसकेको र त्यसले पेशामा संलग्नहरु निराश बन्नु परेको गुनासो समेत गरेका थिए ।

उनीहरुले छिमेकी मुलुकमा कृषिमा निकै बढी अनुदान प्रदान गरिएको अवस्थामा नेपालका कृषकहरुले त्यसमा प्रतिष्पर्धा गर्न कठिन रहेको, कृषि जमिन खण्डिकरण प्रकृया बढेको र श्रमिक पलायन धेरै रहेको हुदा गम्भिर बन्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री गिरिले प्रदेश सरकारले उत्पादनको आधारमा राज्यले अनुदानको व्यवस्था लागु गर्ने बताउदै समृद्ध राष्ट्र निमार्णका लागि आयात प्रतिस्थापन जरुरी रहेकोमा जोड दिनु भयो । गुणस्तर र परिणामलाई जोड दिई उत्पादन प्रणालीलाई अगाडि लान सकेमा स्थानिय कृषि जन्य उद्योगमा कच्चा पदार्थको आपूर्तिको सुदृढिकरण नै औद्योगिकीकरणको बाटो भएको धारणा राख्नु भएको थियो ।
कार्यपत्रमा व्यवसायिक तरकारी खेती, माछा पालन, ढाका, च्याउ लगायतको प्रर्वद्धन भएमा आयआर्जन बृद्धि गर्न सकिने हुदा युवाको आकर्षण बढाउन सुझाव पनि दिइएको थियो ।
रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले कृषि तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा विकास गर्न सकेमा मात्र देशको आर्थिक विकास अगाडी बढ्ने हुदा त्यसमा राज्य र नीजि क्षेत्र एक हुदै कृषिका पकेट क्षेत्र घोषणा गरि लगानी गर्ने बातावरण बनाउन आवहान गर्नु भयो ।
मेला आयोजक मुल समितिका संयोजक पदम प्रसाद श्रेष्ठको अध्यक्षता, सदस्य सचिव प्रकाश ढकालको सञ्चालनमा भएको कार्यक्रममा सहजीकरण औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञवालीले गर्नु भएको थियो । कार्यक्रममा सघंका निर्वतमान अध्यक्ष मोतीलाल पाण्डे, पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेल, वरिष्ठ उपाध्यक्ष यमलाल लोहनी, गोष्ठि उपसमितिका संयोजक बालाराम भट्टराई लगायत बोल्नु भएको थियो ।