अक्सफोर्ड कलेजमा खेलकुद सप्ताह

प्रकाशित मिति:

पुस १७/ सबलपोस्ट,बुटवल
प्रदेश नं. ५ को शैक्षिक नगरी बुटवलमा अवस्थित अग्रण्ाि एवं उत्कृष्ट शैक्षिक प्रतिष्ठानका रुपमा स्थापित अक्सफोर्ड कलेजमा विद्यार्थीहरुको अन्तर्निहित क्षमता प्रष्फुटन तथा पहिचानका लागि यही मिति २०७५ पुष १७ गते देखि खेल सप्ताह सुरु भएको छ । कलेजका क्याम्पस प्रमुख श्री मनोज मरासिनीबाट खेलकुद सप्ताहको समुद्घाटन भयो । उद्घाटन समारोहका क्रममा बोल्दै क्याम्पस प्रमुख मनोज मरासिनीले कलेजमा पठनपाठन र अतिरिक्त क्रियाकलाप संगसंगै लैजाने कार्यक्रम अनुसार यो खेल सप्ताह आयोजना गरिएको जानकारी गराउनुभयो ।

कलेजको कक्षाकोठामा गरिने पठनपाठन मात्रले विद्यार्थीहरुको सम्पूर्ण क्षमता प्रस्फुटन र विकास गर्न नसकिने भएकाले समय समयमा यस्ता कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा उनीहरुको मानसिक, शारीरिक तथा बौद्धिक क्षमताको विकास हुन गई देशमा आवश्यक योग्य र दक्ष जनशक्तिको उत्पादन गर्न सकिन्छ भन्ने विश्वासका साथ यो खेल सप्ताह आयोजना गरिएको कुरा समेत क्याम्पस प्रमुख मरासिनीले बताउनुभयो । सप्ताहव्यापी रुपमा आयोजना हुन लागेको उक्त कार्यक्रममा ब्याडमिन्टन, क्रिकेट, निबन्धलेखन, हाजिरी जवाफ,बक्तृत्वकला, कुर्सी दौड, सटपुट, टेवल टेनिस, भलिवल तथा दौड प्रतियोगिताहरु सञ्चालन हुने कुरा कलेजका प्राध्यापक तथा खेलकुद संयोजक अशोक कान्दुले जानकारी गराउनु भयो । उक्त कार्यक्रम यही पौष २० गते शुक्रवारसम्म सञ्चालन हुने छ ।