राज्यलाई फाईदा हुने काम लिएर आए सधै सहयोग गर्छौ : भन्सार प्रमुख

प्रकाशित मिति:

भैरहवा । भैरहवा भन्सार कार्यालयका नव आगन्तुक प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले राज्यलाई फाईदा हुने कामको लागि स्थानियहरुसंग हातेमालो गर्न तयार रहेको बताएका छन् । नेपाल भारत मैत्री संघ, बेलहिया उपशाखा र सोसाईटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा भैरहवामा आयोजित संविधान दिवस तथा स्वागत कार्यक्रममा बोल्दै भन्सार अधिकृत रेग्मीले सकारात्मक र देशको हितमा हुने काम गर्न आफु तत्पर रहेको बताएका हुन् ।राज्यलाई फाईदा तथा हितमा हुने काम गर्न तयार रहेको र राज्यलाई घाटा हुने काममा भने आफु सधै निर्मम हुने उनले बताए । उनले सीमामा आवातजावत सहज भए यसै क्षेत्रको पर्यटन बढ्ने र आफु यसको लागि सधै तत्पर रहेको बताउदै यसमा स्थानिय सरोकारवालाले साथ दिनुपर्ने जिकिर गरे । “अहिले यहाँबाट पर्यटकहरु अन्य नाकाबाट नेपाल गईरहेको खबर आईरहेको छ, यसले स्थानिय मात्र नभई भन्सारलाई पनि असर पार्छ ।” उनले भने “यसको सुधारको लागि तपाइ र हामी मिलेर सहकार्य गरौ, समस्या कहाँ छ पत्ता लगाएरर समाधान गरौं ।

यस्तै शसस्त्र प्रहरी बल डण्डाका नव आगन्तुक शसस्त्र प्रहरी नायब उपरिक्षक चन्द्र कुमार थापा र ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख, प्रहरी निरिक्षक मुकेश न्यौपानेले सीमा नाका सहज बनाउन आफुहरु तम्तयार रहेको प्रतिवद्धता जनाए । सीमामा हुने अपराध नियन्त्रण तथा अवैध कारोबारहरुको नियन्त्रणमा स्थानियहरुको साथ र सहकार्य सधै आवश्यक रहेको हुदा सहकार्य गरे अगाडी बढ्ने दुबै जनाले बताए ।
कार्यक्रममा बोल्दै सोसाईटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले कोभिड भन्दा अगाडी भन्सार कार्यालय बिहान ६ बजे खुल्ने गरेको बताउदै अहिले पनि सोही अनुसार गराउन आग्रह गरे । कोभिड सकिदा अहिले पनि भन्सार ८ बजे पछि मात्र खुलेको कारण पर्यटकलाई सास्ती भएको बताउदै उनले यसलाई पूर्ववत अवश्थामा सञ्चालनको माग गरे ।नेपाल भारत मैत्री संघ बेलहिया उपशाखाका अध्यक्ष पशुपति कान्दुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संघका सल्लाहकार राम बहादुर बस्नेत, नर्सिङ्ग गुरुङ्गले बेलहियामा भएको अव्यवस्थताका कारण पर्यटक र स्थानियलाई सास्ती भएको कारण यसको सहजताको लागि आग्रह गरेका थिए । कार्यक्रमको सल्लाहकार अर्जुन गिरीको स्वागत र गंगाराम पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।