सञ्चार माध्यमको संरक्षण र विकासका लागी सरकारले उपयुक्त निकास निकाल्छः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति:

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार माध्यमको संरक्षण र विकासका लागी प्रदेश सरकारले उपयुक्त निकास निकाल्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सञ्चार क्षेत्रमा देखिएका समस्या अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन २०८१ बुझ्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमको संरक्षण, विकास र सवलिकरणमा प्रदेश सरकारले नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा नेतृत्वमा कार्यदल गठन भएको थियो ।यो कार्यदलले चालु आर्थिक बर्षमा प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजन गरेको विभिन्न शिर्षकका बजेटहरुको अध्ययन गरेको थियो । बजेट निर्माण र कार्यान्वयनलाई एकद्धार प्रणालीबाट अघि बढाउनेगरी सुझाव सहितको प्रतिवेदन बुझाइएको हो । कार्यदलका संयोजक तथा सञ्चार समन्वय परिषदका अध्यक्ष यमबहादुर गाहा सहित कार्यदलका सदस्यहरुले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाउनु भएको हो । कार्यदलले प्रतिवेदन बुझाउनु अघि मुख्यमन्त्री आचार्य सहित प्रमुख सचिव महादेव पन्थ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेल संग छलफल गरेको थियो ।

प्रतिवेदन बुझाउदै सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहाले सञ्चार व्यवस्थापनलाई बलियो बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने, एकद्वार प्रणालीबाट बजेट विनियोजन गर्ने, कार्यान्वयन गर्ने परिपाटीको विकास गर्न आग्रह गर्नु भयो । सञ्चारलाइ बलियो बनाउन सके प्रदेश बलियो हुने धारणा राख्नु भयो । राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रिय अध्यक्ष तथा बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले विज्ञापन नितिमा परिवर्तन नल्याउदा सम्म सञ्चार माध्यम बलियो हुन नसक्ने भएकाले विज्ञापन नीति परिवर्तन गर्न माग राख्नु भयो । सरकारले मुल सञ्चारका माध्यम सम्म बजेट पु¥याउन नसकेको समेत बताउनु भयो ।

व्यक्तिगत पहुँचको आधारमा हुने बजेट बाँडफाँडलाई निरुत्साहित गर्न आग्रह गर्नु भयो । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुवँरले कार्यदलले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्न माग राख्नु भयो । मन्त्रीस्तरीय बैठकबाट कार्यदल गठन भएको र यसले सुझाएका सुझावहरुलाई पालना गर्न आग्रह गर्नु भयो । सञ्चारको बजेट समानुपातिक वितरण, लोक कल्याणकारी विज्ञापनको बजेटलाई बढाउनु पर्ने, सञ्चार समन्वय परिषद्लाई बलियो बनाउनुपर्ने माग राख्नु भयो । कार्यदलका सदस्य नरेश केसीले यो प्रतिवेदन कार्यान्वयननै निकासको बाटो भएको बताउनु भयो ।राष्ट्रिय समाचार समिति लुम्बिनीका प्रमुख भरत केसीले सञ्चार समन्वय परिषद् लाई सक्रिय बनाउन ऐन संसोधन गरेर अघि बढाउनुपर्ने धारणा राख्नु भयो । पत्रकार तथा कार्यदल सदस्य दिनेश पाण्डेले प्रतिवेदनको पूर्ण कार्यान्वयन गरेर मिडिया क्षेत्रलाई बलियो बनाउन आग्रह गर्नु भयो । प्रतिवेदन बुझाउने कार्यक्रममा सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा, सदस्य नवराज कुँवर, नरेश केसी, बालकृष्ण चापागाई, भरत केसी, दिनेश पाण्डे, गौतम भुसाल, दिपक घिमिरे, प्रदिप आचार्य, टिका बस्नेत, राजु खराल, चिन्ता परियार लगायत पत्रकाहरु सहभागी हुनुहुन्थ्यो ।