वालिङ । स्याङ्जाको अर्जुचौपारी गाउँपालिका ५ आरुचौरमा रहेको बालसिद्ध मोक्षद्धारी आश्रम डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी दान गरिएको छ । साविक आरुचौर ४ बाट बसाइसराई गरी चितवन, नवलपुर, धनगडी, बुटवल, पोखरा गएका कारिम्ले परिवारहरुबाट घटस्थापनाको अवसरमा डहरे देउराली मन्दिरलाई घण्टी दान गरेका हुन् । जिल्लाकै एकमात्र पबित्र धार्मिक स्थल जहाँ पुगेपछि मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास लिइदै आएको डहरे देउरालीमा घटस्थापनाको अवसर पारेर घण्टी राखिएको सहभागी मध्येका डिल्लिराम सिग्देलले बताए ।
झण्डै २ लाख भन्दा बढी मुल्य बराबरको घण्टी डहरे देउरालीको अग्लो चुचुरोमा झुण्डाइएको उनले बताए ।
दर्शन गर्न आउने धार्मिक व्याक्तिहरुले भगवानको पूजाआजापछि घण्टी बजाउन सहज हुने सिग्देलले बताए । डहरे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठलाई उक्त घण्टी सहित मन्दिरको भौतिक निर्माण सहयोग गर्ने अवसर प्रदान गरेको भन्दै उक्त परिवारले धन्यवाद समेत दिएको छ । धार्मिक र पर्यटकीय रुपमा पहिचान बोकेको डहरे देउराली स्याङजा र पर्वत जिल्लाको सिमानामा रहेको छ । यहाँबाट हिमश्रखलाहरु सहित दुईदर्जन जिल्लाहरु अवलोकन गर्न सकिन्छ ।