श्रीमतीको स्मृतिमा क्याम्पसमा एक लाख पचास हजारको छात्रवृत्ति अक्षयकोष

प्रकाशित मिति:

मोहन पौडेल – बुटवल । तिलोत्तमा वडा नं. २ मुस्कान पथ निवासी विष्णु प्रसाद सुवेदीले आफ्नो श्रीमती स्वर्गीय राधा कुमारी सुवेदी पन्थको स्मृतिमा लुम्बिनी वाणिज्य क्याम्पसमा एक लाख पचास हजार रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसमा सहायक प्रशासक पदमा सेवारत रहि २०८१ आषाढ ३० गते उपचारको क्रममा असामयिक निधन हुनुभएकी आफ्नो श्रीमती स्वर्गीय राधा कुमारी सुवेदी पन्थको ४४ औं जन्मदिनको अवसर पारी सोही क्याम्पसमा एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

शुक्रबार निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक महेश प्रसाद चौधरी कुर्मीलाई सुवेदीले एक लाख पचास हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । स्वर्गीय राधा कुमारी सुवेदी पन्थको जन्मदिनको अवसर पारी अक्षयकोष स्थापना गर्नुभएकोमा सुवेदी परिवारलाई निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक कुर्मीले धन्यवाद ज्ञापन गर्दै अक्षयकोषको व्याजले क्याम्पसमा अध्ययनरत आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।सुवेदीले अक्षयकोष मार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर दिवङ्गत जीवनसाथीको स्मरणको बाटो रोज्नुभएको हो । अक्षयकोषको माध्यमबाट दिवङ्गत श्रीमतीको सधैं सम्झना भइरहने सुवेदीको विश्वास छ ।
चेक हस्तान्तरण पछि भावुक हुँदै श्रीमान विष्णु सुवेदीले भन्नुभयो–‘आफ्नो श्रीमतीले २१ वर्ष भन्दा बढी सेवा गरेको क्याम्पसमा उनकै नाममा अक्षयकोष स्थापना गरि उनको सम्झनालाई जीवन्त राख्न चाहन्छु । म, छोरी चाहाना सुवेदी र छोरा चन्दन सुवेदीको तर्फबाट स्थापना गरिएको अक्षयकोषले क्याम्पसमा अध्ययनरत आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि सहयोग पुग्ने विश्वास गरेको छु ।’

थप समाचार