जिल्ला स्तरीय फुटवलको उपाधि शान्ति नमुनालाई

प्रकाशित मिति:

तिलोत्तमा, असोज १९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा भएको जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि आयोजक शान्ति नमुना मा.वि.ले हात पारेको छ ।
फाइनल खेलमा अक्सफोर्ड मा.वि.लाई पेनाल्टीमा हराउँदै शान्तिले उपाधि चुमेको हो । यसअघि निर्धारित समयको खेल गोल रहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
प्रतियोगितामा होराइजन जि.वि.एस. तृतीय भएको छ । न्यू होराइजन मा.वि.ले खेलमा सहभागिता नजनाएपछि होराइजन जि.वि.एस. स्वतः तृतीय भएको प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच भएको प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ ।
विजेताहरुलाई तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँण, तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, सहायक प्रधानाध्यापकद्वय लोकनाथ कंडेल र दिपेन्द्र शाक्य लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रम शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी. को अध्यक्षता तथा सचिव दिनेश खड्काको सञ्चालनमा भएको थियो ।