आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने

प्रकाशित मिति:

काठमाडौं, असोज – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन्।नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उदघोष गरेका हुन्। उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै अब देशब्यापीरुपमा एकल प्रतिस्पर्धामा जानेगरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको बताउँदै उनले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने उल्लेख गरे।पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस–एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको भन्दै अहिले देशब्यापी रुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण साथै जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने पनि उनको भनाइ छ।अध्यक्ष दाहालले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको बताए । उनले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताए।

सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै अध्यक्ष दाहाल यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको भन्दै जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताए।