बुटवल पब्लिकमा अन्तर सदनात्मक फुटबल प्रतियोगिता सम्पन्न – एल्लो हाउस विजयी

प्रकाशित मिति:

बुटवल । बुटवल पब्लिक स्कूलले अन्तर सदनात्मक छात्र फुटबल प्रतियोगिता गरेको छ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ एन्फाका राष्ट्रिय उपाध्यक्ष दिर्घबहादुर केसी कुमारले गरेका थिए । सो अवसरमा बोल्दै उपाध्यक्ष केसीले राज्यले गर्नुपर्ने काम बुटवल पब्लिक स्कूलले गरेर फुटबल र क्रिकेट मैदान, स्वीमिङ पूल तथा हाइटेक नर्सरी बनाएर विद्यार्थीलाई खेलकुद, पौडी र तरकारी खेतीको व्यवहारिक ज्ञान दिने नौलो र अनुकरणीय काम गरेको बताए । विद्यालय तहबाटै खेल गतिविधि र प्रतियोगिताहरु नियमित भएमा मात्रै राम्रा खेलाडीहरु उत्पादन हुने उनले बताए ।

खेलकुदमा ठूलो लगानी गरेर यस्ता नमूना काम गर्ने विद्यालयलाई एन्फाले उच्च मूल्याङकन गरी तालिम र अनय कार्यक्रममा सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए । तिलोत्तमा ११ स्थित आफ्नै खेल मैदानमा भएको प्रतियोगितामा विद्यालयका चार वटा सदनबीच प्रतिस्पर्धा भएको थियो । कक्षा ६ देखि १० सम्मका छात्रहरु खेलेको प्रतियोगितामा एल्लो हाउस विजेता हुंदै उपाधि जितेको छ । फाइनलमा रेड हाउसलाई शुन्यका विरुछ ५ गोल गर्दै एल्लो हाउस विजयी भएको हो । प्रतियोगितामा एल्लो हाउसका सामिप्य पुन म्यान अफ द म्याच र सोहन थापा उदियमान खेलाडी घोषित भए । त्यसअघि एल्लो हाउसले ब्लु हाउसलाई शुन्यका विरुद्ध ७ गोलले विजयी हुंदै फाइनलमा पुगेको थियो । यस्तै ग्रीन हाउसलाई एक गोलले पराजित गर्दै रेड हाउस फाइनलमा पुगेको विद्यालयका भाइस प्रिन्सिपल रामचन्द्र पौडेलले जानकारी दिए ।विजयी टिम र खेलाडीलाई विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसालले मेडल र ट्रफी प्रदान गरेका थिए । विद्यालयले आफ्नै सुविधा सम्पन्न खेल मैदानमा नियमितरुपमा फुटबल, क्रिकेट , बास्केटबल लगायतका प्रतियोगिता गर्दै आएको र यसबाट विद्यार्थी र अभिभावक खुशी भएका अध्यक्ष भुसालले बताए ।