डा : चन्द्र गिरीको यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ प्रकाशित , पुस्तक अमेरिका र क्यानाडामा एमाजोन मार्फत किन्न सकिने

प्रकाशित मिति:

डा. चन्द्र गिरीको यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ प्रकाशित भएको छ। विश्वभरिका मेन्ग्रोब जंगलहरूको नक्सांकन र अनुगमनमा अग्रणी भूमिका खेल्दै आएका वैज्ञानिक, लेखक, र गीतकार डा. चन्द्र गिरीले हालसालै यो नयाँ पुस्तक बजारमा ल्याएका हुन्।संसारको सेरोफेरो’ मा डा. गिरीले ६ वटा महादेशका ३६ यात्रा संस्मरणहरूलाई रोमाञ्चक तरिकाले प्रस्तुत गरेका छन्। भूगोलको विविधताका कारण यो पुस्तक अन्य यात्रा संस्मरण पुस्तकहरू भन्दा फरक छ। पुस्तकमा फरक-फरक भूगोल र वातावरणका साथै, त्यहाँका मानिसहरूको धर्म, संस्कृति, जीवनशैली, खानपान, ऐतिहासिक पृष्ठभूमि, र वर्तमान अवस्थाको वर्णन गरिएको छ। पाठकहरूले हरेक संस्मरणमा लेखकका फरक र घतलाग्दा अनुभवहरू मात्र पढ्दैनन्, सम्बन्धित ठाउँको बारेमा समग्र जानकारी पनि पाउँछन्। यो पुस्तकले पढ्ने क्रममा पाठकलाई संसार यात्रा गरिरहेको अनुभूति गराउँछ, जहाँ हरेक संस्मरण वृत्तचित्रझैं लाग्छ।

लेखकले यस पुस्तकलाई यथार्थ र अनुभूतिको दस्तावेजको रूपमा प्रस्तुत गरेका छन्, जसलाई ‘यात्रा गाइड’ पनि मान्न सकिन्छ। पुस्तकको बारेमा डा. गिरी भन्छन्, “‘संसारको सेरोफेरो’ पुस्तकसँगै घरमै बसेर एक अविस्मरणीय विश्व यात्रामा निस्कनुहोस्। यो पुस्तकमा ६ वटा महादेशका ३६ ठाउँहरूको यात्रा संस्मरण समेटिएको छ। यो केवल यात्रा कथा मात्र नभएर मानव आत्माको असीमित जिज्ञासा र साहसिक यात्राको उत्सव हो। सरल भाषामा लेखिएको यो पुस्तकले पाठकलाई आफ्नो झोला प्याक गर्न र यात्रामा निस्कन प्रेरित गर्नेछ।”यस पुस्तकलाई साहित्य पोस्टले प्रकाशित गरेर नेपालमा वितरणको जिम्मा लिएको छ। यो २५० पृष्ठको पुस्तक नेपालमा ४५० रुपैयाँ र अन्तर्राष्ट्रिय बजारमा १० अमेरिकी डलरमा उपलब्ध छ। पुस्तक अमेरिका र क्यानाडामा Amazon.comमार्फत किन्न सकिन्छ।

१२६ देशको भ्रमण गरिसकेका डा. गिरीले गत वर्ष आफ्नो आत्मकथा ‘मैले नदेखेको सपना’ र त्यसको अंग्रेजी अनुवाद “Unimagined Dream” प्रकाशन गरेका थिए। उनका अरू तीनवटा प्राविधिक पुस्तक र १२६ भन्दा बढी अनुसन्धान पत्रहरू प्रकाशित भइसकेका छन्। गीतकारको रुपमा डा. गिरीका डेढ दर्जन गीतहरु “रुपान्तरा म्युजिक” युटुब च्यानल मार्फत सार्बजनिक भैसकेका छन्।खोटाङको चिमचिमामा जन्मेका डा. गिरी हाल अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकारको रूपमा कार्यरत छन् र ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रूपमा शिक्षण गर्दै आएका छन्।

थप समाचार