मुख्यमन्त्री आचार्यद्धारा गृह जिल्लाका सुरक्षा प्रमुखहरु संग छलफल, सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन जोड

प्रकाशित मिति:

अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु संग समग्र जिल्लाको सुरक्षा अवस्था र समसामायिक बिषयमा छलफल गर्नु भएको छ । प्राकृतिक विपद् व्यवस्थापन, समाजमा शान्ति सुरक्षा स्थापना, समुदाय संग समन्वय लगायतका बिषयमा छलफल गर्नु भएको हो । चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनले सार्वजनिक सुरक्षा अवस्थामा सुधार आएको, आगामी दिनमा हुने मेला, पर्व तथा जात्राको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने बारेमा पनि छलफल भएको छ ।

छलफलको क्रममा मुख्यमन्त्री आचार्यले प्राकृतिक विपदले निम्त्याउने समस्या न्यूनिकरण र प्रभावकारी व्यवस्थापनको काममा सधैं तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो । जुनसुकै विपद्को प्रभावकारी व्यवस्थापनमा खटिनेगरी योजना निर्माण गर्न जोड दिनुभयो ।
समुदाय संग समन्वय गरेर सुरक्षा निकाय आपतकालिन खोज तथा उद्धार, पुर्नस्थापना लगायतको काममा खटिनुपर्ने, प्रभावितहरुलाई राहत वितरणको प्रक्रिया चुस्त बनाउने बिषयमा समेत ध्यान दिन आग्रह गर्नु भएको हो । यस्तै अपराध नियन्त्रण, कानुनी शासनको सुदृढिकरण, सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरुको जिम्मेवारी र तिनका चुनौतीका बारेमा समेत छलफल भएको थियो । छलफलमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बावुराम अर्याल सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।