गह्रौंसुरमा सुविधासम्पन्न आवास गृह

प्रकाशित मिति:

वालिङ । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित गह्रौँसुर धार्मिक पर्यटकीय क्षेत्र परिसरमा सुविधासम्पन्न आवास गृह निर्माण भएको छ । वालिङ नगरपालिका–८ को गह्रौंकालिका मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भन्दै आवास निर्माण गरिएको केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभएको हो ।नेपाल पर्यटन बोर्डको २ करोड बजेटमार्फत् आवस गृह तथा विभिन्न संरचनाहरु निर्माण गरिएको उहाँले बताउनुभयो । जसका लागि बोर्ड र अन्य व्यक्तिको सहयोग रहेको उहाँको भनाइ छ । झण्डै १६ सय मिटरको उचाईमा रहेको मन्दिरमा सिद्धार्थ राजमार्गबाट १० किलोमिटरको दूरीमा छ वालिङ नगरपालिका ८ मा पर्ने गह्रौंसुर गल्याङ नगरपालिकासँग पनि जोडिएको छ ।

सुविधासम्पन्न आवास निर्माण पश्चात रात बिताउने गरी पर्यटकीय क्षेत्र पुग्नेहरुलाई सहज हुने कोषाध्यक्ष केशभक्त गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर वरपर कुनै होटल तथा बास बस्नका लागि व्यवस्थित ठाउँ थिएन, अब सहज हुनेछ ।चौविसे राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिका मन्दिरको स्थापना गरेको मानिन्छ । यहाँबाट स्याङ्जाका अधिकांश भागकासाथै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका छिमेकी जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व रहेको गह्रौंसुरबाट उत्तरतर्फको हिमशृङ्खला देख्न सकिन्छ ।पछिल्लो समयमा मन्दिर वरपर गरिएको व्यवस्थापनले धार्मिक आस्थावान एवम् पर्यटकहरुका लागि जिल्लाकै आकर्षक गन्तव्यका रुपमा विकसित हुँदै आएको छ । योसँगै वालिङकै एक महत्वपूर्ण पर्यटकीय स्थल बनेको छ ।

पछिल्ला वर्षहरुमा मन्दिरमा पुग्नेहरुका सङ्ख्या बढेको कोषाध्यक्ष गुरुङले बताउनुभयो । सहज सडक र मन्दिरको स्वरुप परिवर्तनले यो क्षेत्रको भ्रमण र मन्दिरमा पूजा गर्नेको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।पछिल्लो समय भगवती र कालिकादेवीको मन्दिर निर्माण गरिएको छ । सुविधासम्पन्न अतिथि गृह र खानेपानीको सहज उपलब्धता छ । यहाँको ऐतिहासिक महत्व झल्किने कोतघर निर्माण, धर्मशाला, चमेना गृह, शौचालय, पक्की सडक तथा पदमार्गको समेत सुविधा छ ।यसैगरी आकर्षक प्रवेशद्वार, दृश्यावलोकन केन्द्र, मन्दिर परिसरमा ढुङ्गा तथा टायल लगाएको सफा र सुन्दर भएकाले भक्तजनहरुको विशेष आकर्षणको रुपमा रहेको मन्दिरलाई नयाँ स्वरुप दिन सक्रिय डोलराज शर्माले बताउनुभयो ।