रारा पुगे प्रचण्ड- जुम्लाको सभालाई पनि सम्बोधन गर्ने

प्रकाशित मिति:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुगुको रारा पुगेका छन् । रारा घुमेपछि उनी आज जुम्लाको आम सभालाई सम्बोधन गरी काठमाडौं फर्किने छन् ।आज बिहान छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित प्रचण्ड काठमाडौंबाट नेपालगञ्ज हुँदै हेलिकप्टरबाट रारा पुगेका हुन् ।रारा ताल अवलोकन बाहेक त्यहाँ प्रचण्डको अन्य कार्यक्रम नरहेको प्रमुख मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । ‘उहाँ रारा आइपुगेको जानकारी पाएका छौं- प्रजिअ पाण्डेले भने, ‘यहाँ ताल क्षेत्र अवलोकनबाहेक उहाँको अरु कार्यक्रम छैन ।’

रारा ताल क्षेत्रमा केही समय बिताएर उनी आजै जुम्लाको कनकासुन्दरी गाउँपालिका पुग्ने छन् । उनले त्यहाँ पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रचण्ड गोठीचौरमा पार्टीको कार्यक्रममा मात्र सहभागी हुने जानकारी पाएको बताए । पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्नेबाहेक अन्य कार्यक्रम नरहेको जानकारी छ,’ प्रमुख जिल्ला अधिकारी शाहीले भने उहाँ करिब दुई बजेपछि जुम्लाबाट फर्किनुहुनेछ ।पूर्वप्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने र विपक्षी दलहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाने उनको सचिवालयले जनाएको छ ।