वालिङ नगरमा कानुन विपरीत शिक्षक सरुवा

प्रकाशित मिति:

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दुई शिक्षक सरुवा गर्दा कानुन विपरीत गरेको पाइएको छ । शिक्षक सरुवासम्वन्धी निर्देशिका २०८१ र स्थानीय सरकार शिक्षा ऐन विपरीत दुई शिक्षक सरुवा गरिएको हो । शिक्षक सरुवा गर्दा दरबन्दी मिलान बाहेक अन्य प्रक्रियामा सरुवा गर्दा दुवै विद्यालयको व्यवस्थापन समितिको सहमति आवश्यक रहने व्यवस्था ऐनमा छ । तर वालिङ नगर शिक्षा समितिले दुई शिक्षकलाई सरुवा गरेर मिलान गर्दा कुनै पनि विधि नअपनाउदा विवाद भएको छ ।वालिङ नगर शिक्षा समितिको असोज १३ गते बसेको बैठकले वालिङ १ स्थित रणविर जनहित माध्यमिक विद्यालय र वालिङ ५ स्थित महेन्द्र माध्यमिक विद्यालयका तृतिय श्रेणीका माध्यमिक अंग्रेजी शिक्षकलाई सरुवा गरेको थियो । रणविर जनहित माविका अंग्रेजी शिक्षक कमलराज लम्साललाई महेन्द्र माविमा र महेन्द्र माविका अंग्रेजी शिक्षक अर्जुनप्रसाद पोख्रेललाई रणविर माविमा सरुवा गरिएको थियो । महेन्द्र माविले शिक्षक पठाउन र लैजानका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेको छ भने रणविर जनहित माविले भने व्यवस्थापन समितिको निर्णय नै नगरी सरुवाको अनुमति दिएको हो । यसले गर्दा रणविर जनहित माविका विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सहमति नै नगराई गरिएको निर्णय नमान्ने जनाएपछि अहिले विवाद भएको छ ।

शिक्षक सरुवामा विवाद भएपछि वालिङ नगर शिक्षा समितिले शिक्षक सरुवा निर्देशिका २०८१ र वालिङ नगर शिक्षा ऐनको कानुन विपरीत शिक्षक सरुवा भएको पाइएको हो । शिक्षक सरुवा गर्दा शिक्षकले आवेदन दिनुपर्ने र उक्त आवेदनका आधारमा विद्यालय व्यवस्थापन समितिले सहमतिको निर्णय नगर शिक्षा समितिमा पठाएपछि शिक्षक सरुवा गर्न पाईने प्रष्ट ऐनमा उल्लेख छ । तर रणविर जनहित माविको विद्यालय व्यवस्थापन समितिको सहमति नै नलिएर नगर शिक्षा समितिले कानुन विपरीत शिक्षक सरुवा गरिदिएको छ ।यता वालिङ नगर शिक्षा समितिले महेन्द्र माविमा कुनैपनि शिक्षक प्रधानाध्यापक हुन इच्छुक नदेखिएको र दशैंको बेला शिक्षकहरुलाई तलब खुवाउनु पर्ने बाध्यकारी अवस्था परेका कारण दरवन्दी मिलान गरी शिक्षक सरुवा गरिएको दावी वालिङ नगर शिक्षा समितिका प्रमुख खेमनारायण काफ्लेको छ । कार्यविधि अनुसार रणविर जनहित माविका शिक्षक लम्साललाई प्रधानाध्यापक बनाउन र मेहन्द्र माविका शिक्षक पोख्रेललाई शिक्षककै रुपमा नगर शिक्षा समितिले सरुवा गरिदिएको उनले बताए । शिक्षक दरबन्दी मिलान गर्दा नयाँ शैक्षिकसत्र अगावै नगर शिक्षा समितिले पालिका भरी एकैचोटी दरबन्दी मिलान गर्न पाइने व्यवस्था छ । तर शैक्षिकसत्र सूरु भएको झण्डै ६ महिना पुगिसकेको छ । यो समयमा शिक्षकको दरवन्दी मिलान गर्न नमिल्ने शिक्षा विदहरु बताउछन् ।दुई शिक्षक सरुवाले अहिले वालिङ नगरपालिका विवादमा तानिएको छ । ऐन र निर्देशिकाका बिषयमा फरक—फरक व्याख्या गरिदा झनै विवादमा तानिएको हो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा (ज) र शिक्षक सरुवासम्वन्धी निर्देशिका २०८१ को अनुसार सरुवा अवलम्बन गर्नुपर्नेमा कुनै पनि विधि र प्रक्रिया नमिलाई सरुवा गरिदिदा नगर शिक्षा समिति अहिले विवादमा परेको छ ।