वीपी स्मृति कपः बंगलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी

प्रकाशित मिति:

भैरहवा, कार्तिक  । बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही–११ नेपाल भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । साइक्यू क्रिकेट एकेडेमीले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो । साइक्यूको यो लगातार दोस्रो जित हो भने श्रीलंकन टिमको लगातार दोस्रो हार । नेक्सस रुपन्देहीले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । प्रतियोगितामा नेक्ससको यो दोस्रो जित हो भने जावेद गोहारको लगातार तेस्रो हार हो ।

सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि श्रीलंकन टिमबाट पाएको १ सय १३ रनको लक्ष्य बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीले ११ ओभरमै २ विकेट गुमाएर १ सय १८ रन बनाउँदै सहजै भेट्टायो । उसको जितमा ३० बलमा २ छक्का र ७ चौकाको मद्दतमा मुनिम सानरिअरले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, साद इन्ब मोशरफले २५, फैजलले नटआउट २२ र रकिब अहम्मदले अविजित १२ रनको योगदान गरे । बलिङमा श्रीलंका राज्य सेवा क्रिकेट संघका रवि किरण र वाहिदले १–१ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको श्रीलंकन टिमले निर्धारित खेलमा ६ विकेटको नोक्सानीमा १ सय १२ रनको सामान्य योगफल प्रस्तुत गरेको थियो । उसका लागि नानी वासुपल्लीले अविजित ५४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै, राज विरले ३२ रन बनाए भने दुई खेलाडी शुन्य रनमा पेभेलियन फर्किंदा चार खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा साइक्यू क्रिकेट एकेडेमीका मोहम्मद रफी र सहदाज रहमानले २–२ तथा रकिब अहमदले १ विकेट हात पार्न सफल भए । खेलमा साइक्युका मुनिम सानरिअर म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानको जावेद गोहार १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेक्सस रुपन्देहीका शाहब आलमले ३ ओभर १ बलमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै, वसिर अहम्मदले ३, दिपेश कँडेलले २ तथा कृष्ण कार्कीले १ विकेट हात पारे । जावेद गोहारका सामोनले सर्वाधिक १६ रन बनाउँदा इमरान नाजिरले १२ र अली हुसेनले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।८१ रनको झिनो लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो । उसका लागि सुमित महर्जनले अविजित २८ र मिर्नाल गुरुङले नटआउट २० रन बनाए । नेक्ससले २१ रन त अतिरिक्त नै पायो । बलिङमा जावेद गोहारका जेम खानले ३ विकेट लिए । खेलमा नेक्सस रुपन्देहीका शाहब आलम म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए । प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागी छन् ।