ऐन विपरीत शिक्षक सरुवा बदर गर्न माग

प्रकाशित मिति:

स्याङ्जा । शिक्षक सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक रहने व्यवस्था शिक्षक सरुवासम्वन्धी निर्देशिका २०८१ मा प्रस्ट उल्लेख गरिएको छ । शिक्षा ऐनमा शिक्षक सरुवा गर्दा पुरा गर्नुपर्ने मापदण्ड नै पुरा नगरी शिक्षक सरुवा गरेपछि शिक्षक सरुवा बदर गर्न अभिभावकहरुले माग गरेका छन् । स्याङ्जाको वालिङ नगर शिक्षा समितिले दुई शिक्षक सरुवामा शिक्षा ऐन अनुसार मापदण्ड पालना नगरेपछि विद्यालय व्यवस्थापन समितिले सरुवा बदर गर्न माग गरेका हुन् । वालिङ १ स्थित रणविर जनहित माध्यमिक विद्यालयका बहुमत सदस्यले संघिय शिक्षा ऐन, शिक्षक सरुवा कार्यविधि एंव स्थानीय शिक्षा ऐनको प्रतिकुल हुनेगरी गरिएको शिक्षक सरुवा बदरको माग गर्दै वालिङ नगरपालिकामा निवेदन दिएका छन् । विद्यालय व्यवस्थापन समितिले दिएको निवेदन अनुसार वालिङ नगर शिक्षा समितिले विद्यालयको व्यवस्थापन समितिको सहमतिमा सरुवा गर्नुपर्नेमा समितिसगँ कुनै छलफल नै नगरी शिक्षक सरुवा गरिएकोमा बहुमत सदस्यले हाललाई उक्त निर्णय बदर गर्न माग गरेका हुन् । नगर शिक्षा समितिले गरेको निर्णय विद्यालयको हितमा नदेखिएको गुनासो स्थानीय बुद्धिजीवी, सरोकारवाला, विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारी, चन्दादाता, अभिभावक, विद्यार्थी, पुर्व शिक्षक एंव पुर्व विद्यार्थीहरुबाट आएको हुनाले क्षेत्राअधिकार मिचेर निर्णय गरि पठाइएको शिक्षकलाई विद्यालयमा हाजिर गराउन नसकिने व्यहोरा उल्लेख गर्दै निवेदन दिएका छन् ।

वालिङ नगर शिक्षा समितिले असोज १३ गते रणविर जनहित माविका अंग्रेजी शिक्षक कमलराज लम्साललाई महेन्द्र माविमा र महेन्द्र माविका अंगे्रजीका शिक्षक अर्जुनप्रसाद पोख्रेललाई रणविर जनहित माविमा सरुवा गर्ने निर्णय गरेको थियो । सरुवा भएका शिक्षकहरु विद्यालयमा हाजिर भएर पठनपाठनमा सहभागी भइसकेका छन् । मेहन्द्र माविको विद्यालय व्यवस्थापन समितिले शिक्षक पठाउने र लैजाने बिषयमा सहमतिको निर्णय गरेको छ भने राणविर जनहित माविले भने विद्यालय व्यवस्थापन समितिले सहमतिको निर्णय नै नगरेको बुझिएको छ ।
वालिङ नगर शिक्षा समितिका सदस्यहरुले भने शिक्षक सरुवामा यस्तो विवाद आउछ भन्ने थाहा नै नपाएको बताएका छन् । वालिङ नगर शिक्षा शाखाले दुवै विद्यालयको शिक्षक सरुवा गर्ने सहमति भएको जानकारी दिएकाले हामीले बैठकमा हस्ताक्षर गरेको समितिका अधिकांश सदस्यले बताएका छन् । १५ सदस्यीय नगर शिक्षा समिति रहेको वालिङमा सदस्य सचिव सहित ८ जनाले मात्रै उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । जसमा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बैठकमा सहभागी भएपनि हस्ताक्षर नगरेको बताइएको छ । शिक्षा समितिमा विवादमा रहेको रणविर जनहित माविका प्रधानाध्यापक पनि सदस्यमा रहेका छन् । उनको भने हस्ताक्षर रहेको छ ।वालिङ नगर शिक्षा शाखा प्रमुख खेमनारायण काफ्लेले भने पालिकाभित्र शिक्षक सरुवा गर्दा कार्यविधि अनुसार नै गरिएको दावी गरेका छन् । यो दोेहोरो मिलान हो उनले भने,‘यसमा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक छैन ।’ आकस्मिक सरुवा गर्नुपर्ने विधि अपनाएर कानुन अनुसार सरुवा गरिएको काफ्लेले बताए । विद्यालय व्यवस्थापन समितिले शिक्षक सरुवा बदर गरिदिनु भनेर बहुमत सदस्यले दिएको निवेदन के हुन्छ भनेर प्रश्न गर्दा शिक्षा शाखा प्रमुख काफ्लेले यो बिषयमा म बोल्न नमिल्ने र समितिले नै निर्णय गर्ने जनाउ दिए ।

दरवन्दी रिक्त रहेमा मात्रै जुनसुकै समयमा शिक्षक सरुवा गर्न पाइने कानुनी व्यवस्था छ । तर वालिङ नगरले भने दोहोरो मिलान भन्दै पठनपाठन चलिरहेकै बेला शिक्षकहरु सरुवा गरिदिएको छ । दरवन्दी मिलान गरिएको भन्दै शिक्षक सरुवा निर्देशिकालाई अपब्याख्या गरी शिक्षा शाखाले कानुन विपरीत शिक्षक सरुवा गरिदिदा विवादित बन्न पुगेको छ । शिक्षक दरबन्दी मिलान गर्दा नयाँ शैक्षिकसत्र अगावै नगर शिक्षा समितिले पालिका भरी एकैचोटी दरबन्दी मिलान गर्न पाइने व्यवस्था छ । यो समयमा शिक्षकको दरवन्दी मिलान गर्न नमिल्ने शिक्षा अधिकारीहरु बताउछन् ।दुई शिक्षक सरुवाले अहिले वालिङ नगरपालिका विवादमा तानिएको छ । ऐन र निर्देशिकाका बिषयमा शिक्षा शाखाको कमजोर व्याख्याले शिक्षा समिति नै विवादमा तानिएको हो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा (ज) र शिक्षक सरुवासम्वन्धी निर्देशिका २०८१ को अनुसार सरुवा अवलम्बन गर्नुपर्नेमा कुनै पनि विधि र प्रक्रिया नमिलाई सरुवा गरिदिदा नगर शिक्षा समिति अहिले विवादमा परेको छ । यस बिषयमा हस्ताक्षर गरेका केही नगर शिक्षा समितिका सदस्यहरु अलमलमा परेका छन् ।