मसिर १२ गतेदेखि १३ दिनसम्म चौथो सुनवल महोत्सव हुने 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
कार्तिक ११ गते
नवलपरासी । कृषि, उद्योग, व्यापार, कला र संस्कृति समग्र सुनवलको उन्नति भन्ने मूल नाराका साथ चौथो सुनवल महोत्सव हुने भएको छ । पश्चिम नवलपरासीको सुनवलमा मसिर १२ गते देखी २४ गते १३ दिनसम्म सुनवलको सोमनाथ हाटबजारमा आयोजना हुने आयोजक उद्योग वाणिज्य संघ सुनवलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको छ ।


नवलपरासीको बाबा बर्दगोरिया धाम तर्ङौली ताल रमवापुरको कृष्णमन्दिर बनकट्टीको बौद्ध मन्दिर आफैंमा एक धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थल रहेको छ । मेलाले सुनवलको आन्तरिक तथा बाहृय पर्यटनमा वृद्धि गरी आर्थिकरूपले मजबुत बनाउने र सुनवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत पुग्ने संघका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो । नवलपरासी, रूपन्देही, पाल्पालगायत छिमेकी भारतीय बजारबाट समेत मेला अवलोकनका लागि आउने उहाँले बताउनुभयो । मेलामा स्टल राख्नका लागि उद्योगी ब्यापारहरुले १७ हजार रुपैया शुल्क तोकिएकोमा स्थानीय स्टलहरुलाई ३० प्रतिशतसम्म छुट गरिने आयोजले जनाएको छ । नगर र जिल्लामा उत्पादन हुने साना तथा घरेलु उद्योगहरुलाई निशुल्क स्टकको ब्यवस्थापन मिलाइएको कर्मचार्याले उल्लेख गर्नु भयो ।


मेलामा दुई सय स्टल रहने, एक लाखले अवलोकन गर्ने र १० करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । साथै व्यापार मेलालाई विभिन्न वर्गमा विभाजन गरिएको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र, खानपान क्षेत्र र खेल क्षेत्र रहेका छन् । प्रदर्शनी कक्षमा अलग-अलग परिसर बनाई अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, कृषि तथा जडीबुटी, पर्यटनसम्बन्धी, दैनिक उपभोग्य वस्तु, हस्तकला तथा तयारी पोशाक, जुत्ता चप्पललगायत रहने आयोजकले जनाएको छ ।


विशिष्ट प्रकारका स्टलले सजाइने मेलामा कलाकृत्तियुक्त मूल प्रवेशद्वारको निर्माण, सांस्कृतिक कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय डान्स आइडल, विज्ञान प्रदर्शनी, खाना महोत्सव सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विद्यालय तथा कला केन्द्रको विविध सांस्कृतिक कार्यक्रम, बाल उद्यान क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, फुडकोर्टका साथै जातीय खानपानका विभिन्न स्टल रहने बताइएको छ ।


मेला अवलोकनका लागि विद्यार्थीलाई ७० र सामूहिक रूपमा मेला अवलोकन गर्न आउनेलाई ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुट गरिएको छ भने सर्वसाधारणका लागि एक सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।


संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले यसपटकको मेला विगतका मेलाभन्दा धेरै फरक हुने दाबी गर्नुभएको छ ।”हामीले सुरक्षा देखी मिडिया सेन्टर, जनजातिका परम्परागत घर र खानेपानले यो बर्षको मेला पृथक रहने छ।” खरेलले भन्नु भयो ।