गल्याङ नगरपालीकामा स्थानीय पाठ्यक्रम लागू हुने

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले कक्षा एक देखि कक्षा आठसम्मको लागि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले एक सूचना निकालेर दश वटा विषय क्षेत्रमा सुझाब दिन नगरवासीहरुमा आग्रह गर्नुभएको छ ।गल्याङ नगरपालिकाको स्थानीय पाठ्यपुस्तक लेखन कार्यमा सहयोग गर्न सबै नगरवासीमा आग्रह गर्दै सूचनामा मंसिर मसान्तसम्ममा लेख रचना तथा सुझाबहरु दिन आग्रह गरिएको छ ।

स्थानीय समुदायका आवश्यकता र रुचिलाई महत्व दिई राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तुलाई समाबेश गरि स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।कृषि, पशुपालन तथा फलफुल खेतीलाई जोड दिई पाठ्यपुस्तकको निर्माण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।स्थानीय स्तरका विषयवस्तुलाई संरक्षण गर्ने उद्देश्यले गल्याङ नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण भएको र पाठ्यपुस्तक लेखन कार्य नभएकाले लेखन कार्यका लागि सुझाब मागिएको उहाँले स्पष्ट पार्नुभयो ।नगरप्रमुख भट्टराईले जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजिवी, व्यवसायी, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी सहित चासो राख्ने सबैले सुझाब वा लेख रचना दिन सक्ने बताउनुभयो ।नगरपालिकाको स्थानीय सम्पदा, खाद्य परिकार, रितिरिवाज, चालचलन, उद्यमशिलता, कृषि र पशुपालन, अनुशासन, स्वास्थ्य र सरसफाई, पर्यटन, वातावरण र जैविक विविधता, स्थानीय खेल तथा स्थानीय संघसंस्थाहरुका बारेमा लेख रचना तथा सुझाब दिन उहाँले आग्रह गर्नुभयो ।लेख रचना तथा सुझाबहरु मंसिर मसान्तसम्ममा पाठ्यपुस्तक लेखन मुल समिति वा शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्न सकिने नगरप्रमुख भट्टराईले बताउनुभयो ।