बर्दघाटको पाँच घोषणा भएसंगै दुइवटा वडा बालमैत्री

प्रकाशित मिति:
प्रकाश न्यौपाने
कार्तिक २६ गते
नवलपरासी । बर्दघाट नगरपालिकाको वडा नम्बर ५ बालमैत्री स्थानीय शासन घोषणा भएको छ । जिल्ला समन्वय प्रमुख  भगौती प्रसाद यादवले वालमैत्री वाड घोषणा गर्नु भएको हो । १६ वटा वडा रहेको नगरमा ‘बालबालिकामा लगानी, ल्याउछ सुनौली विहानी’ भन्ने मुल नाराका साथ बर्दघाट नगरपालिकामै दोस्रो बालमैत्री वडाको रुपमा वडा नम्बर ५ घोषणा भएको हो ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले पश्चिम नवलपरासीका स्थानीय तहहरु क्रमश बालमैत्री स्थानीय शासनमा गएको बताउनु भयो । उहाँ भन्नुहुन्छ-‘बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा बालमैत्री घोषणा उन्मुख रहेका छन ।’ बालबालिका विरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध नगर बनाउन बर्दघाट नगरपालिका लाग्नुपर्ने र यसमा सबै नगरबासी सहयोग गर्नुपर्नेमा यादवले जोड दिनुभयो ।


कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आगामी ३ बर्ष भित्र नगरलाई बालमैत्री घोषणा गर्ने तयारीका साथ बर्दघाट नगरपालिका अगाडि बढेको बताउनु भयो । ” अर्को बर्ष ४/५ वटा वडा बालमैत्री घोषणा गर्ने तयारी साथ कार्ययोजना बनाएर अगाडी बढेका छौं ।” श्रेष्ठले भन्नु भयो ।  आजका बालबालिका भोलिका कर्णदार भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासनको मार्फत स्थानीय स्तरमा हुने हरेक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउदै लगीने श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बालबालिकाले आफुलाइ सुरक्षित महसुस गरेमा बालमैत्री घोषणाको मर्मले सार्थकता पाउने बताउनु भयो । “शिक्षा, स्वास्थ र न्यायीक बितरणमा सुरक्षाको महसुस गराउन सके हाम्रो र समाज बिकास भएको महसुस गर्न सकिन्छ ।” उपाध्यायले भन्नु भयो । बालमैत्री घोषणासंगै दिगोपन र निरन्तरताका लागी सबैको सहयोगको आवश्यक पर्ने भनाइ राख्नु भयो ।


२०७६ देखी बालमैत्री अभियान सुरु गरेको वडामा ६ वटा टोलमा ७ सय १५ घर परिवारमा ३ हजार ४ सय ९७ जनसंख्या रहेको वडा अध्यक्ष बिमला गुरुङ्गले बताउनु भयो । वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका- २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि -२०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र सस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको छ ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रकाश खनालले बालमैत्री स्थानीय शासन अनुसार समुदायले स्वमित्व लिदै बालमैत्री कायम गर्नु पर्नेमा जोड दिनु भयो । स्थानीय सरकारले घोषणा गरेको बालमैत्री घोषणा समुदायले कायम गरी बालबालिकाका अधिकार शुरक्षित गर्दै अगाडि बढ्नु पर्ने खनालको भनाइ छ ।  कार्यक्रममा बालमैत्री सहजकर्ता शर्मीला पौडेलले उमेर नपुगी विवाद गर्ने, लागु औषध र सुर्ती जन्य पदार्थको बिक्री बितरणमा केहि चुनौती रहेको उल्लेख गर्दै यसको न्यूनीकरणमा लाग्नु पर्ने धारण राख्नु भयो ।

कार्यक्रममा १ सय २ बर्षका जेष्ठ नागरिक पुरुषोत्तम भट्टराई र भिम कुमारी गुरुङ्ग, स्वास्थ्य सस्था, स्वास्थ्य कर्मी, टोल बिकास सस्था र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । ८ वटा बाल सन्जाल र १ वटा बाल कल्व रहेको छ । बालमैत्री वडा घोषणा गर्नमा विभिन्न तवरबाट सहयोग गर्ने आमा समुह, क्लब, टोल विकास सस्थालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा पन्चेवाजा, विद्यार्थीहरुले सास्कृतिक झलक समेत प्रस्तुत गरेका थिए ।


वडा अध्यक्ष बिमला गुरुङ्गको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य शोभकान्त लामिछानेको स्वागत र शिक्षक शिव शर्माको सञ्चालन रहेको थियो । सात वटा पालिकाहरु रहेको नवलपरासीमा सुनवल र रामग्राम नगरपालिका बालमैत्री घोषणा भइ सकेका छन । भने बर्दघाट नगरपालिकाका वडा नम्बर ९ र ५ गरि दुई वटा वडा बालमैत्री घोषणा भएको छ ।