बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित आयोजनाहरूको अनुगमन

प्रकाशित मिति:

बुटवल । बुटवल उपमहानगरपालिकाले नगर भित्र भैरहेका आयोजनाहरूको अनुगमन गरेको छ । नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रादेवी अर्याल,बुटवल उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपाने,उपमहानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख मित्रमणी खनाल,भौतिक पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारसहितको जनप्रतिनिधि तथा प्राविधिक टोलीले बुटवल उपमहानगरपालिका वडा नं ६ को दुर्गा मन्दिरलाइन सडक,कालिका पथ प्रवेश गर्ने कालिका मन्दिर क्षेत्रमा भएको सडक बिस्तार कार्यको अनुगमन गरेको हो ।

गत आर्थिक बर्षको बजेटबाट सुरु भएको बुटवलको दुर्गा मन्दिरलाइन सडक स्तरोन्नती गर्ने कार्य गत भदौ महिनामा गर्नुपर्ने भए पनि चाडपर्वको समयमा सडक भत्काउदा ब्यवसायीहरूको ब्यापार ब्यवसायमा असर पर्ने भएकोले दशै,तिहार र छठलगायतका पर्वहरू सकिएपछि काम सुरु गरिएको नगर प्रमुख पाण्डेयले बताउनु भयो । २४० मिटर लम्बाइको उक्त सडकको दायाँबायाँ नाली निर्माण र कालोपत्रे गर्न साब्दिक इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालि काठमाडौंले ९३ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको उपमहानगरपालिकाका पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिनुभयो ।