बौद्ध धर्मदर्शनमा चार आर्यसत्य

प्रकाशित मिति:

डा. बालकृष्ण चापागाईं- बौद्ध धर्मदर्शन भन्नाले गौतम बुद्धका जीवन र जगतसम्बन्धी धारणा एवम् दृष्टिकोण हुन् । यसलाई वर्गीकरण गर्दा ‘आधा भाग दर्शन र आधा भाग नैतिक सिद्धान्त’ का रूपमा लिने गरिएको पाइन्छ । दुःखको उत्पत्ति जन्म–मृत्युको चक्रबाट हुन्छ । जस्तोसुकै आनन्द वा सुखको अनुभव भए पनि यो दुःखकै कारण बन्दछ । त्यही दुःखको अन्त्य गर्नु नै बौद्धदर्शनको मूल ध्येय हो । यसरी विश्लेषण गर्दा बौद्धदर्शन मूलतः मानवीय जीवनलाई सुखी र समृद्धशाली बनाउने विषयमा केन्द्रित भएको देखिन्छ । बौद्धधर्मदर्शन यथार्थवादी छ । यसले जीवन र जगत्लाई यथार्थ दृष्टिकोणले हेर्दछ । चूलमालुक्यसुत्तमा बुद्धले अव्याकृत र व्याकृत भनी उल्लेख गरेका छन् । अव्याकृत भन्नाले (१) के लोक शाश्वत छ ?, (२) के लोक अशाश्वत छ ?, (३) के लोक अन्तवान् छ ?, (४) के लोक अनन्त छ ?, (५) के उही नै जीव हो उही नै शरीर हो ? (६) के जीव अर्कै हो, शरीर अर्कै हो ?, (७) के तथागत मरण पछि पनि हुन्छ ?, (८) के तथागत मरण पछि हुँदैन ?, (९) के तथागत मरण पछि हुन्छ, पनि हुँदैन पनि ?, (१०) के तथागत मरण पछि हुँदैन, नहुने होइन पनि ? भन्ने प्रश्नहरूको उत्तर खोज्नतिर लाग्दा निरर्थक हुने र त्यसबारे कुनै कुरा नै थाहा नपाइकन मानिसको मृत्यु हुन्छ भन्ने बुद्धको भनाइ रहेको छ । त्यस्तै बुद्धले सोही सुत्तमा व्याकृत– (१) यो–यो दुःख हो, (२) यो–यो दुःख समुदय हो, (३) यो–यो दुःख निरोध हो, (४) यो दुःख निरोध हुने पटिपदा (मार्ग) भनी उल्लेख गर्दै यी विषय अर्थ–उपयोगी, धर्म–उपयोगी, निर्वेद, विराग, निरोध, उपसम, अभिज्ञा, सम्बोधि र निर्वाणको निमित्त अत्यन्त सहायक हुन्छन् भनी बताएका छन् । उल्लिखित भनाइका आधारमा बौद्ध धर्मदर्शनको अनेकौँ कोणबाट चर्चा र व्याख्या भएको पाइन्छ । बौद्धदर्शनको चर्चा गर्दा मुख्य गरी गौतम बुद्धद्वारा प्रतिपादित ‘चार आर्य सत्य’ र ‘अष्टाङ्गिक मार्ग’को आलोकमा विकसित भएका दार्शनिक, धार्मिक, सैद्धान्तिक, जीवन पद्धति, शैली एवम् संस्कारलाई आधारका रूपमा लिएको पाइन्छ । गौतम बुद्धले मानव जीवन के हो ? कसरी जन्म—मरणको चक्रमा घुम्दछ ? के यो चक्रबाट मुक्ति पाउन सकिन्छ ? आदि विषयहरूमा गहनतम चिन्तन गर्दा ध्यान मार्गको माध्यमबाट स्वानुभूतिमा उतारेर अन्वेषण गरी पत्ता लगाएको वैज्ञानिक दर्शनलाई बौद्ध दर्शनको रूपमा बुझ्न सकिन्छ । बौद्धदर्शनमा चार आर्यसत्यलाई महत्वपूर्ण आधारका रुपमा मानिन्छ ।
पहिलो आर्यसत्य

चार आर्य सत्य मध्ये गौतमबुद्धले आफ्ना शिष्य भिक्षुहरूलाई दुःखलाई प्रथम आर्य सत्य बताएका छन् । जन्म दुःख हो । वृद्धावस्था र मरण पनि दुःख हो । शोक, वेदना, उदासीनता तथा अपायास–हैरान हुनु पनि दुःख हो । अप्रियसँगको साक्षात्कार, प्रियसँगको वियोग पनि दुःख हो । साथै राग, द्वेषद्वारा उत्पन्न पञ्चस्कन्ध अर्थात् ‘रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान’ पनि दुःख नै हुन् । यसबारेमा बौद्धग्रन्थ प्रमाण वार्तिकमा भनिएको छ ः
दुःखं संसारिणः स्कन्धा रागादे
पाटवेक्षणाद् ।
अभ्यासान्न यदृच्छातोऽहेतोर्जन्म
विरोधतः ।।
यी पञ्चस्कन्ध संसरणशील तत्व नै दुःख हो । सत्काय दृष्टिका कारण रागादिका अभ्यासबाट रागादिको उत्पति हुन्छ । दुःख उत्पन्न हुनुमा अविधा कारण हुन्छ । यसको आशय संसारका प्रत्येक घटनामा दुःखसत्ता अवस्थित छ भन्ने हो ।
वस्तुतः लोक – चक्र नै दुःख हो, रोग हो, बन्धन हो, मयल हो, आगो हो, भय हो, दुष्फल हो, दुर्गति हो । धर्म–चक्र नै सुख हो, स्वस्थ हो, शान्ति हो, मुक्ति हो, निर्मलता हो, योगक्षेम हो, सुफल हो, सुगति हो । चार आर्य–सत्यलाई सम्झनु, बुझ्नु धर्म – चक्र हो र नसम्झनु, नबुझ्नु लोकचक्र हो । सांसारिक सुखमा सूक्ष्म तर तीब्र दुःख लुप्त हुन्छ भन्ने कुरा बुझ्न कठिन हुन्छ ।
कहिलेकाँही हुने भौतिक सुखको कारणले हामीभित्र जुन उत्तेजना निस्कन्छन् र हाम्रो मानसिक सन्तुलन बिग्रँदै जान्छ, त्यो दुःखलाई हामी देख्नै पाउँदैनौं । प्रिय वा अप्रिय सबै स्थितिमा हाम्रो भित्र – भित्रै जुन गहिरो अतृप्ति र असन्तुष्टि निहित भएको हुन्छ, त्यसबाट प्राप्त हुने दुःखलाई हामी सम्झनै सक्तैनौं । जुन प्राप्त भइरहेको छ, त्यसको सुरक्षाको निमित्त र जुन कुरा अप्राप्य छ, त्यसको प्राप्तिका लागि हाम्रो अन्तर्मनमा जुन निरन्तर छट्पटी भइरहन्छ, त्यसलाई हामीले देख्नै सक्तैनौं । यसलाई देख्नु, सम्झनु नै यथार्थ रोगलाई चिन्नु हो । यही पहिलो मङ्गलकारी सत्य हो, आर्य – सत्य हो ।
दोस्रो आर्यसत्य
दुःख समुद्य – दुःखको कारण छ । यो आर्य सत्यको दोस्रो स्थिति हो । विनाकारण कार्य उत्पन्न हुँदैन भन्दछ । त्यसैले दुःख उत्पन्न हुनुमा पनि कुनै न कुनै कारण छ । दुःख कार्य हो भने त्यसको कारण पनि छ । दुःखको प्रमुख कारण तृष्णा हो । यस बारे बुद्धले आप्mनो उपदेशमा–हे भिक्षुगण, दुखको प्रमुख कारण तृष्णा हो । जुन बारम्बार प्राणीहरूमा उत्पन्न भइरहन्छ । प्राणीहरू आनन्द खोज्दै तृष्णामय जीवन व्यतीत गरिरहेका हुन्छन् । कामतृष्णा, भवतृष्णा, विभवतृष्णा गरी तीन प्रकारका तृष्णाहरू दुःखका प्रमुख हुन् । यस कारणबाट नै प्रतीत्यसमुत्पादको सिद्धान्त उत्पत्ति भएको मानिन्छ । यसको विवेचना आगामी अनुच्छेदमा गरिएको छ ।
संसारमा रहेका सबै वस्तुहरू अस्थायी, अनित्य, क्षणभंगुर एवम् परिवर्तनशील छन् । त्यसै भएर संसार दुःखको प्रतिमूर्ति हो । तृष्णारहित प्राणीले सांसारिक भवचक्रको दुःख निवारण गर्न सक्छ । बौद्धदर्शनमा दुःखका कारणलाई १२ भागमा विभाजन गरिएको छ । तिनीहरू (१) जरा – जन्म – मरण (२) जाति (३) भव (४) उपादान (५) तृष्णा (६) वेदना (७) स्पर्श (८) षडायतन (९) नाम–रूप (१०) विज्ञान (११) संस्कार (१२) अविद्या हुन् । द्वादश निदानलाई नै बौद्धदर्शनको मूल आधारको रूपमा मानिन्छ ।
बुद्धले भिक्षुहरूलाई आप्mनो भाग्यको निर्माता ईश्वर नभई स्वयं नै हो भनेका छन् । दोस्रो मङ्गलकारी–आर्य सत्य, त्यस दुःखको मूल कारण चिन्नु हो । व्यक्तिगत, पारिवारिक, सामाजिक र राजनीतिक जीवनका विभिन्न अवाञ्छित घटनाहरू र परिस्थितिहरूले हामीलाई दुःखी बनाइरहन्छन्, यो सत्य हो तर यो माथिल्लो तहको सत्य हो । योभन्दा गहिरो सत्य के हो भने भित्र–भित्रै हामीलाई थाहै नभईकन मन यस्तो स्वभावको जालमा पर्छ, जसबाट अप्राप्यलाई प्राप्त गर्नको लागि सधैं लालायित रहन्छ । जुन चीज छ, त्यसबाट उसलाई संतुष्टि हुँदैन, तृप्ति हुँदैन । जुन छैन, त्यसका लागि छट्पटाउँछ । अतृप्ति र असन्तुष्टिको यो छट्पटाइ नै दुःख हो । यो कुरा थाहा पाइसकेपछि के पनि स्पष्ट बुझिन्छ भने सधै तृष्णामा लालायित रहने हाम्रो आन्तरिक स्वभाव नै त्यसको मूल कारण हो । इच्छा पूर्ण भइसकेर पनि तृष्णा रहिरहन्छ ।
एउटा इच्छा पूरा हुने वित्तिकै अर्को प्रतितृष्णा उत्पन्न हुन्छ । जबसम्म तृष्णा भइरहन्छ तथा त्यस तृष्णाप्रति गहिरो आसक्ति रहिरहन्छ, त्यस बेलासम्म दुःख पनि रहिरहन्छ । दुःखका मूलभूत कारण नजानेकाले नै दुःखबाट विमुक्तिका सबै उपक्रम व्यर्थ साबित हुन्छन् । अझ बढी अल्झाउने साबित हुन्छन् । इन्द्रियसम्बन्धी सुखको अभावलाई नै दुःखको कारण मानेर त्यसको पछि दौडने व्यक्ति दुःखमा बढी अल्झन्छ । कुनै सर्वशक्तिमान् अदृश्य ईश्वर, भाग्य आदिलाई दुःखको कारण मानेर खुशी पार्ने चक्करमा पर्ने व्यक्ति दुःखमा बढ्ता अल्झने हुन्छ । अतः दुःखको सही कारण जान्नु नै वास्तविक मङ्गलमय सत्य हो ।
दुःख यो हो, दुःखको कारण यो हो । यी दुवै सत्यलाई थाहा पाउन अत्यन्त आवश्यक छ तर यति जानेर पनि हामी यो त संसारको स्वभाव हो, यो दुःख–चक्र त सधैं चली नै रहने हो, यसभन्दा बाहिर कोही आउन सक्तैन भनी बसेकाहरू नैराश्यको कारण बुभ्mन नसकेर दुःख–चक्रमा परी नै रहन्छौँ । धर्म–चक्र र दुःखको सही कारण जानेमा त्यसको निवारणप्रति आस्था उत्पन्न गर्दछ । जसको कुनै कारण छ, त्यसको निवारण पनि हुन्छ नै । कारण नभएमा परिणाम स्वतः समाप्त हुनेछ ।
तेस्रो आर्यसत्य
दुःखनिरोधः–दुःखको निराकरण गर्न सकिन्छ । दुःख–निरोध तृष्णारहित सम्पूर्ण वैराग्यको नाम हो । निर्वाण प्राप्त गर्ने व्यक्तिले नै अमृत–तत्व प्राप्त गर्न सक्दछ । तृष्णा नै भव–आवागमनको सागर हो । आत्मा त्यो वस्तु प्राप्त गर्न चाहन्छ, जुन वस्तु प्राप्त गरेपछि फेरि कुनै वस्तुको इच्छा नरहोस् । जहाँ इच्छा छ, त्यहाँ दुःख छ । मुक्ति निर्वाण प्राप्ति हो । यही क्रममा बुद्ध भन्छन्–‘मैले त्यो अमृत प्राप्त गरेकोे छु, जुन अमृत प्राप्त गरेपछि कुनै पनि तृष्णाहरूको आवश्यकता नै हुँदैन । यो नै अशेष लाभ हो । परम् शान्ति हो । यसलाई मोक्ष पनि मान्न सकिन्छ ।
चौथो आर्यसत्य
दुःखनिरोधोपायः–दुःखको निराकरण गर्ने उपाय छन् । ती उपायहरू आठ प्रकारका छन् । तिनलाई आर्य अष्टांगिक मार्ग भनिन्छ । ती मार्ग अवलम्बन गरेर दुःख हटाउन सकिन्छ। गौतम बुद्धले जीवन र जगतको सटीक निचोडको रूपमा चार आर्य सत्यको व्याख्या गरिसकेपछि सफल मानव जीवन र मुक्तिका लागि अष्टाङ्गिक मार्गहरूको खोज गरेका हुन् । बीज नभएमा फल पनि स्वतः हुँदैन । आशाले भरिएको यो तेस्रो मङ्गलमय सत्य हो । कारण–बीजको निवारणले दुःखको निवारण हुन्छ, यो सत्य थाहा पाएपछि र निवारणको लागि सही उपाय जानेपछि चौथो मङ्गलकारी सत्य हात पर्नेछ । तेस्रो सत्यले जुन आशा उत्पन्न गरेको थियो, त्यसलाई क्रियान्वित गर्ने विधि हातमा पर्नुपर्छ । के हो यो विधि ? यो विधि हो–शील, समाधि र प्रज्ञा । अर्थात् कार्य र वाणीको दुराचारबाट बच्नु, चित्तलाई वशमा राख्नु अनि चित्तमा छाएका समस्त दूषित विकारलाई हटाई त्यसमा मैत्री, करुणा आदि सद्गुणले भर्नु । दुःख–निरोधको यही सही उपाय हो । अनि हाम्रो सम्पूर्ण रोगको यही रामवाण औषधी हो । यही त्यो मार्ग हो, जुन मार्गमा गएर हामी आफूभित्र निहित भएका सबै दुःखका जननी–स्वरूप तृष्णाजन्य आशक्तिहरूलाई समूल नष्ट गर्न पूर्ण समर्थ हुन्छौं । यो मङ्गलकारी चौथो सत्य हो । जानेर, बुझेर त्यसलाई क्रियान्वित गर्नु नै हाम्रो मङ्गलको विधायक हो । रोगलाई चिन्यो, त्यसलाई निको पार्ने औषधी पनि भेट्टायो तर त्यो औषधी सेवन गरेन भने यो सबै जानेको बेकार हुन्छ ।
भवतु सब्ब मंगलम् ।