तिन वर्ष अघि र अहिलेमा धेरै परिवर्तन भएको छ । तिन वर्ष अघि जोरपाटी चोक पुग्दा कुनै ग्रामीण क्षेत्रको अत्यन्तै अव्यवस्थित हाटबजारमा पुगे जस्तो हुन्थ्यो भने अहिले व्यवस्थित शहरमा पुगे जस्तै अनुभूति हुन्छ । तर, अझै गर्नु पर्ने काम धेरै छ ।बौद्ध, जोरपाटी क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय समुदाय, जनप्रतिनिधि, नेपाल प्रहरी र ट्राफिक प्रहरीको महत्वपूर्ण योगदान रहेको छ । तिन वर्ष अघि सम्म बौद्ध जोरपाटी क्षेत्रको सडकमा साँझ, विहान र दिउँसोको समयमा हाटबजार लागे जस्तै हुन्थ्यो ।तिन वर्ष अघि सम्म गोकर्णेश्वर नगरपालिको सडकमा एउटै पनि फुटपाथ निर्माण भएको थिएन । सडकको दुवैतर्फ सवारी साधन पार्किङ गरिएको हुन्थ्यो । पैदलयात्रीहरु सडकको वीच भागबाट हिँड्ने गरिरहेको हुन्थ्यो । सडक दुर्घटनाबाट दिनहु घाइते हुने, अङ्गभङ्ग हुने र ज्यान जाने गरिरहेको थियो ।
गोकर्णेश्वर नगरपालिकाको मेयरमा दिपक रिसाल निर्वाचित भएर आउनसाथ गोकर्णेश्वर नगरपालिकामा बौद्ध पिपलबोट देखि नारायणटार पूल सम्म सडकको दुवैतर्फ फुटपाथ निर्माण गर्नुको साथै सडकको दुवैतर्फ पार्किङ गर्ने गरिएको सवारी साधनलाई हटाउने काम भयो । साँझ, विहान र दिउँसोको समयमा हाटबजार लागे जस्तै फुटपाथ र सडकको दुवैतर्फ ठेलागाडामा राखेर व्यापार गरिरहेको हुन्थ्यो । ठेलागाडामा राखेर व्यापार गर्ने व्यापारीहरुलाई व्यवस्थित गर्नु भयो भने नगरपालिकाको आफ्नै खर्चमा जोरपाटी चोक देखि सुन्दरीजल सम्म सडक लेन र जेब्रक्रस निर्माण गर्ने काम भयो । ट्राफिक प्रहरीलाई २५ लाख रुपैयाँ जत्तिको ट्राफिक सामाग्री दिने काम गर्नु भयो ।
सडक दुर्घटनाबाट ज्यान जाने र अङ्गभङ्ग हुने, घाइते हुनेहरुको संख्या अत्यन्तै कम मात्रमा भइरहेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कुनै समय उपत्यकाभित्रको सडकहरु मध्य सबै भन्दा बढि दुर्घटना हुने र ज्यान गुमाउने क्षेत्र यहि पर्थ्यो । सायद अहिले त्यो तथ्याङ्क ठिक उल्टो हुन जाँदै छ ।
अब गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोक देखि गोकर्ण हनुमान चोक सम्मको सडकको दुवैतर्फ पार्किङ गरिएको सवारी साधन हटाउनु पर्ने देखिन्छ भने यस सडक खण्डमा फुटपाथ पनि निर्माण गर्नु पर्ने देखिन्छ । कतिपय मोटरसाइकल वर्कसपहरुले सडक र फुटपाथमा नै सवारी साधन राखेर सवारी अवगमान प्रभावित बनाउनुको साथै पैदलयात्रीहरुलाई हिँडडुल गर्नै नहुने बनाएको छ । यिनीहरूलाई पनि व्यवस्थित गर्नु पर्ने देखिन्छ । मलाई लाग्छ गोकर्णेश्वर नगरपालिकाको नागरिकको हित र भलाईको निम्ति दिपक रिसालले मात्र यो काम गर्न सक्छ ।
३ बर्ष अघि नागरिक दैनिकमा प्रकाशित समाचार हेर्नुहोस्
सडकमै पार्किङ:बौद्ध–जोरपाटी खण्ड अस्तव्यस्त
२०७८ फागुन २८
‘साँझ त हाटबजारै लाग्छ नि,’ स्थानीय कृष्णबहादुर तामाङ भन्छन्, ‘सडकका दोहोरै ठेला पसलको लाम, त्यसैमा पनि पार्किङ । साँझ परेपछि त सडकको नामनिसानै भेटिन गाह्रो पर्छ ।’ ठेलाहरू हटाउन नगरपालिकाले प्रयास गर्दै आए पनि सफल हुन नसकेको गोकर्णेश्वरका नगरप्रमुख चालिसे बताउँछन् ।
उनी भन्छन्, ‘सडकका गाडा हटाएर तीन रोपनी जमिन व्यवस्था गरी त्यतै चलाउन भनेका थियौं तर मानेनन् ।’ ठेला हटाए आत्महत्या गर्नेसम्मको धम्की आएपछि नगरपालिका पछाडि हटेको उनको भनाइ छ । स्थानीय बासिन्दाहरू पनि सडकमै भइरहेको पार्किङको समस्याबारे आवाज उठाइरहेका छन् ।
‘सडकमा यसरी पार्किङ गर्नुभएन, वैकल्पिक व्यवस्था गर्नुपर्यो भनेर हामी त रातदिन लागेकै छौं,’ स्थानीय तामाङ भन्छन्, ‘ट्राफिक प्रहरी, स्थानीय सरकार र गृह मन्त्रालयसम्म पुग्दा पनि यसको निरूपण दिगो उपायबारे सुनुवाइ हुन्न ।’ कहिलेकाहीँ ट्राफिक प्रहरी सक्रिय हुने, एकोहोरो पार्किङ हटाउने र केही दिनपछि सेलाउने अनि पुरानै अवस्था दोहोरिने गरेको उनको भनाइ छ ।