लुम्बिनीमा एमाले-कांग्रेस संयन्त्र बैठक, मंसिर मसान्त भित्र सबै जिल्लामा संयन्त्रकाे बैठक सम्पन्न गर्ने निर्णय
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेसकाे प्रदेश स्तरीय संयन्त्रकाे बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालकाे अध्यक्षतामा बसेकाे संयन्त्रकाे बैठकमा प्रदेश सरकारले गरेकाे कामहरुकाे वारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ्ग गर्नु भएको छ । एमाले-कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरु सहि दिशामा अघि बढेकाे, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणकाे पाँच बर्षे रणनीतिक याेजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी गराउनु भएको थियाे । यस्तै बैठकमा संसदीय क्षेत्रमा भएका कामहरुकाे बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चाैधरीले प्रकाश पार्नु भएको थियाे । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारकाे कामलाई थप गतिशील बनाउन सुझाव दिनु भएको थियाे ।
प्रदेश संयन्त्रकाे बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रकाे बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरु संकलन गर्ने निर्णय गरेकाे छ । यस्तै मंसिर २० गते एमाले-कांग्रेस संयन्त्रकाे प्रदेश भेलाकाे आयाेजना गर्ने निर्णय गरेकाे छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन ।एमाले-कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहनु भएको छ । यस्तै कांग्रेस बाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र बिष्णु खनाल मुस्कान रहनु भएको छ ।