१८ औं लिस्नु कप फुटबल आजदेखि

प्रकाशित मिति:

बुटवल । जिल्लाकै प्रतिष्ठित र ठूलो धन राशी पुरस्कारको फुटबल प्रतियोगिता लिस्नु कपको १८ औं संस्करण आज शनिबार साउन ५ गतेदेखि कोटिहवामा शुरु हुंदैछ । लिस्नु युवा क्लब कोटिहवाको आयोजनामा कोटिहवास्थित पशुपति माविको खेल मैदानमा दिउसो ४ बजेदेखि शुरु हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लिस्नु युवा क्लब र देशभक्त युवा क्लब मगरबुढा नवलपरासी भिड्दै छन् । नकआउटका आधारमा खेलाइने प्रतियोगिता साउन २१ गतेसम्म संचालन हुने छ ।

प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल सहित रुपन्देही, नवलपरासी, दाङ, स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष तिर्थबहादुर मल्ल (तारा) ले जानकारी दिए । प्रतियोगिताको विजेताले तीन लाख,उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । ५ हजार रुपैयां पुरस्कार राशीबाट सुरु भएको प्रतियोगितामा क्लबले पुरस्कारको राशी हरेक वर्ष बढाउ“ंदै गएको छ । अघिल्लो वर्ष प्रथम
पुरस्कार दुई लाख रुपैयां रहेको थियो । क्लबस्तरमा लिस्नुको पुरस्कार राशी जिल्लाकै सर्वाधिक हो । खेलाडी उत्पादन, फुटबल खेलको विकास र स्तरोन्नति एवं युवाहरुलाई कुलतबाट जोगाउन क्लबले स्थानीय उद्योगी व्यवसायी र संघसंस्थासंग चन्दा सहयोग उठाएर विगत १८ वर्षदेखि निरन्तर प्रतियोगिता संचालन गर्दै आएको अध्यक्ष मल्ल बताउंछन् ।यस पटकको प्रथम पुरस्कार स्थानीय समाजसेवी धनबहादुर पुन (पप्पु) र श्रीमती टिकमाया गुरुङ पुनले स्वर्गीय आमा प्यारी पुन र बुबा खबीर पुनको स्मृतिमा प्रायोजन गरेका छन् ।प्रतियोगिता समपन्न गर्न करिब १५ लाख रुपैयां खर्च अनुमान गरिएको कोषाध्यक्ष लिलप्रसाद गुरुङले बताए ।
उक्त रकम विभिन्न उद्योगी,व्यवसायी र खेलप्रेमीहरुबाट संकलन गरेर जुटाइने गुरुङले बताए । प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले एक लाख ५० हजार रुपैया“ दिने निर्णय गरेको छ । प्रतियोगितामा दैनिक रुपमा म्यान अफ द म्याच, प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर लगायत विधामा पुरस्कार तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबकासचिव मनोज क्षेत्रीले जानकारी दिए । खेल अवलोकनका लागि २ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण भएको खेल संयोजक बुद्धिप्रसाद गुरुङले बताए । प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता अवलोकनका
लागि रु. ५० को टिकटदर कायम गरिएको क्लबले जनाएको छ ।