मणिग्राम, मङ्सिर १९, बुधबार । स्नातक तहको अध्ययन जीवन निर्माणका लागि तयारीको आधार हो; सीप, ज्ञान तथा असल आदत निर्माण गर्नेगरी औपचारिक अध्ययनलाई अघि बढाएमा जीवनयात्रालाई सफल बनाउन सहज हुनेछ ।यो कुरा राममणि बहुमुखी क्याम्पसले स्नातक तह पहिलो वर्षका विद्यार्थीका लागि आयोजना गरेको उत्प्रेरणामूलक अभिमुखीकरणका क्रममा बताइएको हो । कार्यक्रमका मुख्य प्रशिक्षक समालोचक, साहित्यकार एवम् सह–प्राध्यापक ऋषिराम भूसालले स्नातक तहको अध्ययन आजीविका निर्माणका साथै आदत निर्माणका लागि पनि हुनाले राम्रा मान्छेमात्र होइन राम्रा विचारको संगत प्रति सजग रहनुपर्ने बताउनुभयो ।
स्नातक तह पहिलो वर्ष अन्तर्गत बी.बी.एस. र वी.एड. का करीब तीन सय विद्यार्थीको उपस्थितिमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको सर्वाङ्गीण विकाशका लागि क्याम्पसले विद्यार्थीकेन्द्रित कार्यक्रम गर्दै आएको बताउनुभयो । विद्यार्थी परामर्श तथा रोजगार एकाई संयोजक भिमलाल घिमिरेको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन प्रकाशन समितिका संयोजक मुक्तिनाथ गैह्रेले गर्नुभएको थियो ।