रवि लामिछाने विरूद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

प्रकाशित मिति:

काठमाडौं, मंसिर  । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत पर्साले बुधबार लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको विषयमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो। लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य छबिलाल जोशीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। चितवमा बयान सकेर उनलाई वीरगन्ज लैजाने तयारी छ।

सहकारी बचत अपचलनसम्बन्धी संसदीय विशेष समितिले पनि सानोपाइला सहकारीबाट गोर्खा मिडियामा सर्वसाधारणको बचत गएको औंल्याएको थियो।त्यहाँबाट ८ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनमाम उल्लेख छ।चितवनको सहारा चितवन सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि लामिछानेलाई मंगलबार चितवन लगिएको थियो।त्यसअघि काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबारे बयान भएको थियो। काठमाडौंअघि लामिछानेलाई रूपन्देही पनि पुर्‍याइएको थियो। बुटवलको सुप्रिम सहकारीको बचत अपचलनबारे लामिछानेसँग बयान लिइएको थियो।रूपन्देहीमै बयानका क्रममा लामिछानेले हस्ताक्षर गरेको चेक सहकारीमा जम्मा भएको खुलेको थियो। उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका थिए। त्यसयता उनलाई पटकपटक म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।