लुम्बिनी महोत्सवले सुस्ताएको आर्थिकगतिविधिलाई चलायमान बनाउनेछ’- ठाकुरकुमार श्रेष्ठ, अध्यक्ष, सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही
मंसिर २० गते बिहीबारदेखि भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव संचालन हुँदैछ । मुलुकभरका ठूला, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि, हस्तकलाका लगायत एकै थलोमा प्रदर्शनी गरी ब्यापार प्रबद्र्धन गर्ने महोत्सवको उद्देश्य हो । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले यो महोत्सवले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्ने जनाएको छ । यसै सन्दर्भमा महोत्सवको समग्र विषयवस्तुमा केन्द्रित रहेर संघका अध्यक्ष समेत रहेका महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः
भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सञ्चालन हुँदैछ । यसको तयारीबारे बताइदिनुस् न ?
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले विगत ६ महिनादेखि महोत्सवको तयारी गरेको थियो । विभिन्न ३३ वटा समिति बनाएर हामीले काम गर्यौं । सबैको साथ सहयोग र हौसलाले महोत्सवको सबै तयारी भइसकेको छ । बिहीबार मंसिर २० गते नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ सुरु हुँदैछ । बिहान साढे १० बजे देवकोटाचोकबाट विशाल र्याली निकालिनेछ । उक्त र्याली मेलास्थलमा पुग्नेछ । करिब ३ सय संघसंस्थामा ६ हजार प्रमुख तथा प्रतनिधि र्यालीमा सहभागी हुनुहुनेछ । दिउँसो १ बजे नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुहुनेछ । महोत्सवमा उद्घाटन गर्नुअघि सबै काम सम्पन्न गरिसकेका छौं ।
अहिले आर्थिक क्षेत्रमा मन्दी छ, तर यस्तो बेला महोत्सव किन आयोजना गर्नुभयो ?
यो महोत्सवमार्फत् उद्योग, व्यपारा र पर्यटनको मात्र प्रवद्र्धन नभएर कृषि तथा घरेलु उत्पादनको प्रोत्साहन गर्छ । यससँगै कलासंस्कृति, रितिरिवाज र परम्पराको समेत संरक्षण गर्छ । महोत्सव सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भए पनि यो महोत्सव सिद्धार्थनगर र रुपन्देहीबासी सबैको अपनत्व हुने हिसाबले कार्यहरु अघि बढाएका छौं । यहाँले बनेजस्तै अहिले बजारमा मन्दी छ । निजी क्षेत्र निरास छ । तर, जटिलतालाई हामीले अवसरमा बदल्न खोजेका हौं । अवसरै सिर्जना नगरी व्यवसायिक प्रबद्र्धन हुँदैन । धेरैले महोत्सव नलगाएको भए हुन्थ्यो भन्नुभएको थियो । तर, संघले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउनपर्छ भनेर आँट गर्यो । हाम्रो आँटलाई सबैले साथ दिँदा महोत्सव भव्यरुपमा हुने अवस्थामा आएको छ । यसले सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन कोशेढुंगाको काम गर्ने अपेक्षा हाम्रो छ ।
महोत्सवमा कति स्टल रहन्छन्, कहाँकहाँका उत्पादनहरुको प्रदर्शनी हुन्छ ?
महोत्सवमा ३ सय वटा स्टल निर्माण गरेका छौं । सबै स्टल नै बुकिङ भइसकेका छन् । हामीले धेरै जिल्लाका उत्पादनलाई यहाँ राख्ने कोशिश गरेका छौं । अहिलेसम्म ४० जिल्लाका उत्पादन प्रदर्शनी हुने पक्का भएको छ । अझ भन्ने हो भने महोत्सवमा पूर्व मेचीदेखि पश्चिम दैलेखसम्म तथा मुस्ताङसम्मका उत्पादन राखिनेछ । धनगढीका व्यवसायी पनि यहाँ आउनुभएको छ । यो क्षेत्र कृषि, उद्योगको उर्वराभूमि भएकाले कृषिलाई बढी प्राथमकिता दिएका छौं । कृषि निर्देशनालयको सहयोगमा निःशुल्क माटो परीक्षण गरिनेछ । कुन माटोमा कस्तो खालको खेती गर्दा उपयुक्त हुन्छ भन्ने कुरा माटो परीक्षणबाट थाहा हुन्छ । कृषकलाई मौकाको फाइदा उठाउनुहुन म आग्रह गर्दछु । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुत रहनेछ ।
यसबाहेक महोत्सवका मुख्य विशेषता के हुन् ?
खास उद्यमशीलता विकास पनि हो । नयाँ उद्यमी बन्न चाहनेले यहाँ आएर धेरै सिक्न सक्नुहुन्छ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । हामी खुसी छौं । पर्यटन क्षेत्रलाई अझ कसरी अगाडि बढाउन सकिन्छ भनेर विभिन्न मेलास्थलमा गोष्ठीहरु सञ्चालन गर्नेछौं । भारतीय पर्यटकलाई विशेष सुविधा दिन्छौं । महोत्सवको टिकट काटेपछि बुटवलमा रहेको लुम्बिनी केबलकार चढ्न गए ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलास्थलमा प्रवेश शुल्क (टिकट) वापत रु. १ सय, विद्यार्थीलाई रु. ५० तथा वृद्धवृद्धा र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था छ । कलासंस्कृति जर्गेना गर्न भ्वाइस अफ भैरहवा, भैरहवा आइडल प्रतियोगिता आयोजना गरिनेछ । विभिन्न ख्यातीप्राप्त कलाकारको प्रस्तुती रहनेछ । प्रत्येक दिन साँझ ६ देखि १० बजेसम्म डिजे प्रस्तुती रहनेछ । सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । बालउद्यान आकर्षक छ । यसका साथै स्टलको डिजाइन हेर्न लायक बनाएका छौं । समग्रमा भन्दा एकै थलोमा धेरै कुरा हेर्न, स्वाद लिन, खरिद गर्न र अनुभव गर्न पाइन्छ ।
आम मानिसले लुम्बिनी महोत्सव किन अवलोकन गर्ने ?
महोत्सवले सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउने आशा गरिएको छ । यो महोत्सव अवलोकन गरेर म उपभोक्तालाई सामान खरिद गर्न आग्रह गर्छु । महोत्समा बाहिर भन्दा सस्तो र गुणस्तरीय सामान पाइन्छ । त्यस्तै होटलमा स्वस्थकर र गुणस्तरीय खाना उपलब्ध हुन्छ । हामीले किन्न चाहेने, खान चाहेको, अवलोकन गर्न चाहेको वस्तु पाइन्छ भने दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरंजन पाइनेछ । अझ भन्दा यसको सफलता र मन्द आर्थिक क्षेत्रलाई गति दिन हामी सबैले महोत्सव अवलोकन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
महोत्सवमा ग्रामीण क्षेत्रका दर्शकलाई कसरी समेट्दै हुनुहुन्छ ?
सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यक्षेत्र मर्चवार, धकधई लगायतका पनि हो । त्यहाँ रहेका दर्शकलाई मेलास्थलमा आउजाउका लागि यातयातको व्यवस्था गरिएको छ । सहर मात्रै नभएर ग्रामीण बस्तीमा प्रचारप्रसार गरेका छौं । धेरैजना महोत्सवबारे जानकार हुनुहुन्छ । नभएकाहरुलाई जानकारी भएकाले एकपटक जाउ भनेर यहाँसम्म ल्याउनुहुनेछ भन्ने विश्वास लिएको छु ।
विगतको भन्दा यस वर्षको महोत्सवमा के फरक छ ? टिकटदर महंगो भए भन्ने गुनासो छ नी ?
हामीले विगतमा ८ वटा महोत्सव सफलतापूर्वक सम्पन्न गरेका छौं । यसमा सबैको साथ रहेर नै सम्भव भएको हो । पछिल्लो समय सबै क्षेत्रबाट महोत्सवप्रति चासो र आकर्षण बढेको छ । उत्साहजनक सहभागिता हुने विश्वास छ । आकर्षकका रुपमा अटोका स्टलहरु छन् । कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौं । स्टलका संरचना फरक छन् । ख्यातीप्राप्त कलाकार, धेरै जिल्लाका फरकफरक उत्पादन, नयँ उद्यमीलाई प्रोत्साहन, डान्स आइडल, टूर प्याकेज विगतभन्दा फरक हुन् । अन्य मैले माथि उल्लेख गरेका विषयहरु हुँदै भए । जहाँसम्म टिकटदरको कुरा छ, महंगो होइन् र छैन भन्ने म सबैलाई अवगत गराउन चाहन्छु । मेलाको व्यवस्थापनमा ठूलो खर्च लाग्छ । न्यूनतम मूल्यमा टिकट उपलब्ध गराइएको छ । भैरहवामा स्थायी प्रदर्शनीस्थलको अभाव छ । जसका कारण वर्षेनि ४०–५० लाख रुपैयाँ १२–१३ दिनका लागि आयोजना गरिने महोत्सवमा खर्च हुन्छ । स्थायी मण्डप भए धेरै खर्च बच्न सक्दथ्यो । यसैले पनि टिकटदर महंगो भन्न मिल्दैन जस्तो लाग्छ ।
महोत्सव आयोजना गर्दा सरकारी निकाय, संघसंस्था र स्थानीय सर्वसाधरणबाट कस्तो सहयोग पाउनुभएको छ ?
मेला महोत्सव सञ्चालनका लागि तीनै तहका सरकारसँग समन्वय गरेका छौं । खास गरेर सिद्धार्थ नगरपालिकासहित १६ वटै पालिकासँग सहकार्य गरेका छौं । स्थानीय सरकारबाट राम्रो सहयोग पाइएको छ । प्रदेश सरकारसँग पनि समन्वय गरेका छौं । स्थानीय संघसंस्थाको भरपूर्ण सहयोग छ । धेरैजना महोत्सवबाट उत्साहित हुनुहुन्छ । सर्बसाधरणले विशेष चासो दिएर महोत्सव संचालनको दिन गनेर बसेको हामीले अनुभव गरेका छौं ।
यहाँहरुले विगतदेखि नै स्थायी मण्डपका लागि पहल गर्नुभएको छ । तर, अझै पनि बन्न सकेन नी ?
सिद्धार्थ उद्योग बाणिज्य संघले स्थायी मण्डपका लागि निरन्तर दबाब दिइरहेको छ । तर, तीनै तहका सरकारले यसका त्यति ध्यान नदिएका हुन् की भन्ने लागेको छ । पक्कै पनि अर्को महोत्सव गर्दासम्म स्थायी मण्डप बन्छ भन्ने आशा गरेका छौं । संघले २०६१ सालदेखि महोत्सव आयोजना गर्न सुरु गरेको हो । पहिला महोत्सव सिद्धार्थ रंगशालामा हुने गर्दथ्यो । रंगशाला क्रिकेट संघले लिएपछि त्यहाँ महोत्सव हुन सकेन । जग्गा नपाएपछि एक वर्ष महोत्सव नै हुन सकेन । अहिले आयोजना गरिएको महोत्सवस्थल संघका सल्लाहकार सीताराम उप्रेतीको निजी जग्गा हो । मण्डपका लागि हामीले स्थानीय, प्रदेश र संघीय सरकारलाई निरन्तर दबाब दिइरहेका छौं । हामीले जग्गा खरिद गर्न सक्दैनौं । सरकारले यसलाई तत्कालै व्यवस्थापन गर्नुपर्छ । यहाँ कुनै सभा गर्नका लागि खुल्ला स्थान पनि छैन । यसमा राजनीतिक दलले पनि हामीलाई सहयोग गर्नुपर्छ । अर्थमन्त्रीलाई पनि यसबारेमा ध्यानाकर्षण गराउँछौं ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
महोत्सव अवलोकन गर्न सबैलाई अनुरोध गर्दछु । काम गर्ने क्रममा केही कमीकमजोरी भए सल्लाह–सुझाव दिन अनुरोध गर्दछु । एकपटक महोत्सवमा आउन म सबैलाई विनम्रतापूर्वक पुनः अनुरोध गर्न चाहन्छु । हामीले सबैले यो महोत्सव सफल पारेर अहिलेको आर्थिक मन्दीलाई एकजुट भए चिर्न सकिन्छ है भन्ने सन्देश दिन जरुरी छ ।