पन्धौं कपिलवस्तु महोत्सव उदघाटन- निजी क्षेत्रलाई अघि बढाएर मात्र पर्यटन क्षेत्रको बिकास गर्न सकिन्छ – मन्त्री पाण्डे

प्रकाशित मिति:

कपिलवस्तु, मंसिर  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई अगाडि बढाएर देशको पर्यटन क्षेत्र बिकास गर्न सकिने बताउनु भएको छ । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मुल नाराका साथ कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बुद्धरङ्गशाला बाणगंगामा शुरु भएको १५ औं कपिलवस्तु महोत्सव एवम कृषी, पर्यटन तथा औधोगिक प्रदर्शनीको उदघाटन गर्दै सो बिचार व्यक्त गर्नु भएको हो । कार्यक्रममा मन्त्री पाण्डेले निजी क्षेत्रको अगुवाई बिना पर्यटन क्षेत्रको बिकासका असम्भव रहने भएकाले निजी क्षेत्र सहित बिदेशी र गैर आवासीय नेपालीलाई लगानीका लागि प्रोत्साहित गर्नु पर्नेमा जोड दिनुभयो ।
लुम्बिनी बिश्व शान्तिको केन्द्र भएको बताउँदै कपिलवस्तुका नागरिकले पर्यटकलाई गर्ने व्यबहार र स्वागत सत्कारमा बुद्ध शैली अबलम्बन तथा बुद्धत्व झल्काउने खालका व्यबहारबाट आकर्षित गर्न सक्नु पर्नेमा जोड दिनु भयो ।

तिलौराकोट छिट्टै बिश्व संपदा सुचिमा सुचिकृत हुने प्रक्रियामा रहेको खुलासा गर्दै मन्त्री पाण्डेले कपिलवस्तु सहितका बुद्धस्थलको बिकास अगाडि बढ्नेमा बिश्वास दिलाउनुभयो । कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा यहि आजबाट पुस २ गते सम्म महोत्सव आयोजना भएको छ । महोत्सवले जिल्लाको समग्र बिकास, प्रचार प्रसारमा टेवा पुर्याउने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रबद्र्धन सँगै कृषि आधुनिकीकरणका औजार, कृषि, लघु र साना उद्योगका उत्पादनका लागी प्रदर्शनीमा प्राथमिकता दिईएको छ । उदघाटन कार्यक्रममा बिभिन्न कला संस्कृतिका साथै विभिन्न झाँकी देखाईएको थियो । महोत्सवको आकर्षणको रुपमा पशुपतिनाथ मन्दिर शैलीको प्रवेश गेट, राष्ट्रिय र स्थानीय कलाकारको साँङ्गीतिक प्रस्तुती, जिल्लाको पर्यटकिय क्षेत्रको तस्बिर, थारु परिकार, बाल उद्यान, कपिलवस्तु डान्स आईडल, झुला लगायतले आकर्षण गर्ने जनाईएको छ । महोत्सवको आकर्षणको रुपमा खेल क्षेत्रलाई प्राथमिकता दिई बालुवामा डिजर साईक्लिङ्ग, प्रदेशस्तरीय कपर्दी प्रतियोगिता र स्कुलस्तरीय भलिबल लगायतका खेल आयोजना गरिने जनाईएको छ ।