तिलोत्तमाका मेयर खाँणको शिक्षा मोह, आफ्नो सेवा सुविधाबाट १ सय ४६ विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति वितरण
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालीकाका १ सय ४६ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । यसरी वर्षेनी तिलोत्तमा नगरपालिकामा छात्रवृत्ति वितरण गरिदै आइएको छ । तर छात्रवृत्ति वापत्को रकम भने तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले वर्षभरी पाउने तलब र अन्य पारिश्रमिक रकमबाट वितरण हुँदै आएको छ । चुनावी नारामै आफू नगरपालिकाबाट सेवा सुविधा नलिने तर उक्त रकम बाट शिक्षा क्षेत्रमा सहयोग गर्ने घोषणा गरे बमोजिम नगर प्रमुख खाँडले छात्रवृत्ति वितरण गर्दै आएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालीकाका १ सय ४६ विद्यार्थीले छात्रवृत्ति पाएका छन् । उनीहरुले छात्रवृत्ति अन्तर्गत सोमबार नगर प्रमुख रामकृष्ण खांणले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकम ७ लाख ३० हजारबाट जनही ५ हजारका दरले पैसा पाएका हुन् । उक्त छात्रवृत्ति नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीलाई प्रदान गरिएको हो ।
नगर प्रमुख खाणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक वापतको रकम छात्रवृत्ति वितरण गर्दै आएका छन् । नगर प्रमुखले वितरण गरेको छात्रवृत्तिले पढ्न ईच्छा भएरपनि बीचमै पढाई रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्य बनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताए ।बालबालिकामा लगानीले सुनौलो बिहानी ल्याउने भएकाले यसतर्फ सबैको ध्यान आग्रह गरिएको छ । त्यस्तै, छात्रवृत्तिसंगै पालीकाले कक्षा ८, १० र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका १९ जना विद्यार्थीलाई सम्मान समेत गरेको छ ।प्रति विद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैया र प्रशंसा पत्रले विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । सो अवसरमा नगर उपप्रमुख जगेश्वर देबी चौधरी , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायतले जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट छात्रवृत्ति वितरण गर्नु अरु जनप्रतिनिधिको लागि अनुशरण योग्य भएको बताए । यस्तै , तिलोत्तमाले विद्यार्थीहरुलाई दिवा खाजामा नेपाल सरकारले दिने गरेको १५ रुपैयामा दश रुपैया थप गरि २५ रुपैयाको दिवा खाजा दिदै आएको छ । अन्य पालिकामा कक्षा ५ सम्मकालाई मात्रै दिवा खाजा दिने गरेकोमा तिलोत्तमा कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिने गरिएको छ। शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्ने गरेको तिलोत्तमा नगरपालिकाले जनाएको छ । यस्तै , छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी वितरण गरी नगर प्रमुख राम कृष्ण खाँणको योजना छ ।